﻿हिब्रू.
10.
किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैँमा सत्य थोकहरू भने होइनन् । पुजारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्‍वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन् । 
नत्रता के बलि चढाउने काम बन्द हुने थिएन र ? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा सधैँका लागि शुद्ध हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन । 
तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् । 
किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ । 
जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपाईंले भेटीहरू र बलिदानहरू चाहनुभएन, बरु तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ । 
पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” 
तब मैले भनेँ, “हेर्नुहोस्, पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पुरा गर्न म यहाँ छु ।” 
उहाँले पहिला भन्‍नुभयो, “पापका निम्ति न त बलिदानहरू, न भेटीहरू र होमबलिहरू नै तपाईंले चाहनुभयो, न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” (यी त व्यवस्थाअनुसार चढाइन्छन् ) । 
तब उहाँले भन्‍नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पुरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ । 
दोस्रो अभ्यासमा हामी उहाँको इच्छाबाट सधैँका निम्ति येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा परमेश्‍वरमा समर्पित भएका छौँ । 
अर्कोतिर, हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भइरहन्छ । उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ, त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन । 
अर्कोतिर, ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ । 
उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुहुन्छ । 
किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा समर्पित भएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ । 
र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो, 
“मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, ती दिनहरूपछि, परमप्रभु भन्‍नुहुन्छ । तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा पनि लेखिदिनेछु ।” 
म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।” 
अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन । 
यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ । 
पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ । 
र परमेश्‍वरको घरमा हामीसँग महान् पुजारी हुनुभएकोले 
हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ । 
हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । 
हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई विचार गरौँ । 
हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौँ, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ । 
किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन । 
त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ । 
मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ । 
परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला । 
किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।” 
जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो । 
तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ, ती अघिका दिनहरूको सम्झना गर । 
तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ । 
किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्‍पत्ति छ । 
त्यसकारण, आफ्नो निश्‍चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ । 
तिमीहरूलाई धैर्यको खाँचो छ । त्यसकारण, परमेश्‍वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्‍त गर्नेछौ । 
“किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिलाउनु हुनेछैन । 
मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्‍न हुनेछैन ।” 
तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ । बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास छ । 
