﻿यूहन्‍ना.
11.
लाजरस नाम गरेका मानिस बिरामी थिए । तिनी तिनकी दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए । 
यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए । 
यी दुई दिदी-बहिनीले येशूलाई बोलाउन पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिरामी छन् ।” 
जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।” 
येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो । 
त्यसैले, जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो । 
यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।” 
चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले नै यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका थिए र तपाईं फेरि त्यहीँ फर्केर जाँदै हुनुहुन्छ ?” 
येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र ? यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ । 
तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।” 
उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।” 
यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।” 
अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको छ भन्‍ने तिनीहरूले सोचे । 
त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेको छ । 
म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । तिनीकहाँ जाऔँ ।” 
दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।” 
जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो । 
बेथानिया यरूशलेमबाट नजिकै करिब तिन किलोमिटर दुरीमा पर्थ्यो । 
धेरै यहूदीहरू मरियम र मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए । 
जब मार्थाले येशू आउँदै हुनुहुन्छ भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिँ घरमा नै बसिरहेकी थिइन् । 
त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् । 
म जान्दछु, कि अहिले पनि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।” 
येशूले तिनलाई भन्‍नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।” 
मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” । 
येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ । 
जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्छ्यौ ?” 
तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्‍वरका पुत्र अर्थात् ख्रीष्‍ट हुनुहुन्छ ।” 
जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।” 
जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् । 
येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् । 
त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे । 
त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।” 
जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो । 
उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।” 
येशू रुनुभयो । 
त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो !” 
तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो र ?” 
त्यसपछि फेरि येशू आत्मामा आफैँ अति विचलित हुनुभयो, र चिहानतिर जानुभयो । यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो । 
येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।” 
येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ ?” 
त्यसैले, तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्‍नुभयो, “हे पिता, मेरो बिन्ती सुन्‍नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु । 
म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्‍नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।” 
उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर आऊ !” 
मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।” 
त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे । 
तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए । 
त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने ? यस मानिसले धेरै चिह्न‍हरू गर्छन् । 
यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।” 
तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ । 
सम्पूर्ण राष्‍ट्र नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।” 
अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्‍ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए । 
राष्‍ट्रको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो । 
त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले । 
येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो । 
अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै जना आफैँलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए । 
तिनीहरूले येशूलाई खोजिरहेका थिए । तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कामा भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ ? उनी चाडमा आउने छैनन् र ?” 
अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने, त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् । 
