﻿यूहन्‍ना.
6.
यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो । 
एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए । 
येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँका चेलाहरूसँग बस्‍नुभयो । 
(यहूदीहरूको निस्तार-चाड नजिकै थियो । ) 
येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्‍नुभयो, अनि उहाँले फिलिपलाई भन्‍नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने ?” 
(तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।) 
फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।” 
चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने, 
“यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र ?” 
येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ ।” (त्यस ठाउँमा धेरै घाँस थियो ।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे । 
तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो । 
जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।” 
यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्‍ह डाला भरे । 
जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्न‍हरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यो संसारमा आउनुपर्ने अगमवक्‍ता हुनुहुन्छ ।” 
जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्‍नुभयो । 
जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे । 
तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन । 
र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए । 
जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए । 
तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ ।” 
तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए । 
अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देखे । 
तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए । 
जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए । 
तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो ?” 
येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो । 
नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।” 
तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ ?” 
येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।” 
यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ ? तपाईंले के गर्नुहुनेछ ? 
हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।” 
तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ । 
किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ ।” 
यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।” 
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्‍वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन । 
तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ । 
पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ । 
किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो । 
र मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ । 
किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।” 
तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।” 
तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ ?” 
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।” 
मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु । 
अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् । 
परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ । 
साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ । 
म जीवनको रोटी हुँ । 
तिमीहरूका पिताहरूले मरुभूमिमा मन्‍न खाए, र तिनीहरू मरे । 
यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् । 
स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।” 
यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ ?” 
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन । 
मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु । 
किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो । 
मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु । 
जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ । 
स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।” 
तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्‍नुभयो । 
यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्‍वीकार गर्न सक्छ ?” 
उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ ?” 
त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि ? 
जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् । 
तैपनि तिमीहरूमध्ये कति जनाले विश्‍वास गर्दनौँ ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो । 
उहाँले भन्‍नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।” 
यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् । 
तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त ?” 
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु ? अनन्त जीवनको वचन तपाईंसँग छ । 
र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।” 
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्‍ट छ ?” 
अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो । 
