﻿मर्कूस.
12.
त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे । 
ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए । 
तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए । 
फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपमा व्यवहार गरे । 
अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्‍यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे । 
उनीसँग पठाउन अझै पनि एक जना व्यक्‍ति अर्थात् प्यारो छोरा थिए । उनले तिनीहरूकहाँ पठाउन त्यो नै अन्तिम व्यक्‍ति थियो । उनले भने, “तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।” 
तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ ।” 
तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए । 
यसकारण, दाखबारीको मालिकले के गर्नेछ ? उनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् । 
के तिमीहरूले यो धर्मशास्‍त्र पढेका छैनौ ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’ 
त्यो परमप्रभुबाट थियो र यो हाम्रो दृष्‍टिमा आश्‍चर्यजनक छ ।” 
तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए । 
अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए । 
तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्‍न । तपाईंले साँच्‍चै परमेश्‍वरको मार्ग सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन ? हामी कर तिरौँ कि नतिरौँ ?” 
तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ ? मलाई एउटा सिक्‍का ल्याओ ताकि मैले हेर्न सकौँ ।” 
तिनीहरूले एउटा सिक्‍का येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कसको स्वरूप र छाप हो ?” तिनीहरूले भने, “कैसरको हो ।” 
येशूले भन्‍नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै ।” तिनीहरू चकित भए । 
त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे, 
“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ ।’ 
त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्‍नी ल्याए र बच्‍चा नभई मरे । 
दोस्रोले दाजुकी पत्‍नी लगे र कुनै बालबच्‍चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्यस्तै भयो । 
अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन । अन्तमा ती स्‍त्री पनि मरिन् । 
पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्‍नी हुनेछिन् ? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए । 
येशूले भन्‍नुभयो, “तिमीहरूले न त धर्मशास्‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र ? 
किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन् । 
तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्‍वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ’ भन्‍नुभयो भन्‍ने पढेका छैनौ ?” 
उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ । तिमीहरू गलत छौ ।” 
शास्‍त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने । येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा कुन हो ?” 
येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, परमप्रभु एक मात्र हुनुहुन्छ । 
तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’ 
दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।” 
शास्‍त्रीले भने, “हे असल गुरुज्यू ! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ । 
उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।” 
जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन । 
येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन् ? 
दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’ 
दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो । 
येशूले उहाँको शिक्षामा भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होसियार बस, जसले लामो वस्‍त्र लगाएर हिँड्न र बजारमा अभिवादन गरेको, 
अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् । 
तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।” 
त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले । 
त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्‍का हालिन् । 
उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् । 
किनभने सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए । तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन् ।” 
