﻿योना.
2.
तब योनाले त्यस माछाको पेटबाट आफ्ना परमप्रभु परमेश्‍वरसँग प्रार्थना गरे । 
तिनले भने, “मेरो सङ्कष्‍टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्‍नुभयो । 
तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्‍करणमा नै फाल्‍नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए । 
मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’ 
पानीले मेरा घाँटीसम्म नै भर्‍यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए । 
पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्‍याउनुभयो । 
जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो । 
तिनीहरूले प्रेमपुर्ण विश्‍वस्ततालाई प्रेम गर्न छोड्‍दा, तिनीहरूले बेकारका देवताहरूमाथि ध्यान लगाए । 
तर मेरो बारेमा, उच्‍च सोरले म तपाईंलाई धन्यवादको बलिदान चढाउँछु । मैले गरेको भाकल म पुरा गर्नेछु । मुक्‍ति परमप्रभुबाट नै आउँछ!” 
त्यसपछि परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो । 
