﻿विलाप.
3.
परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ । 
उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो । 
निश्‍चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो । 
उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो । 
उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो । 
उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो । 
उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्‍न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो, 
र मैले सहायताको लागि पुकारे र चिच्‍च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो । 
काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो । 
उहाँ आक्रमण गर्न ढुकेर बस्‍ने भालुजस्तो र लुकेर बस्‍ने सिंहजस्तो हुनुहुन्छ । 
उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो । 
उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो । 
उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो । 
म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ । 
उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो । 
उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो । 
मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु । 
त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।” 
मेरो कष्‍ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् । 
म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु । 
तर म यो स्मरण गर्दछु । त्यसैले म आशा गर्दछुः 
परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन । 
ती हरेक बिहान नयाँ हुन्छन् । तपाईंको विश्‍वसनीयता महान् छ । 
मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु । 
परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ । 
मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ । 
आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्छ । 
त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस् । 
त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ । 
त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस् । 
किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्‍नुहुने छैन, 
तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ । 
किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न । 
पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने, 
सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने, 
कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न । 
परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ ? 
के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र ? 
कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ ? 
हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं । 
हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ: 
“हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन । 
तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन । 
कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्‍नुभएको छ । 
तपाईंले जाति-जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ । 
हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस् । 
आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् । 
मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ । 
मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ, 
जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न । 
मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए । 
मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ । विनाकारण तिनीहरूले मेरो सिकार गरे । 
तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने, 
अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।” 
हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ । 
“मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्‍नुभयो । 
मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्‍नुभयो, “नडरा ।” 
हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्यान बचाइदिनुभयो । 
हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् । 
तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ । 
हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ । 
मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् । 
तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् । 
हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् । 
तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् । 
हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ । 
