﻿यर्मिया.
3.
“कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र ? के त्यो देश औधी दुषित हुँदैन र ? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस् ? यो परमप्रभुको घोषणा हो । 
नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन ? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् । 
त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् । 
के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र । 
के उहाँ सधैं रिसाउनुहुन्छ र ? के उहाँले आफ्‍नो क्रोधलाई सधैं अन्त्यसम्म राख्‍नुहन्‍छ र ?' हेर्! तैंले यसरी भनेको छेस्, तर तैंले त सके जति दुष्‍ट काम गर्छेस् ।” 
तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस् ? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ । 
मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी । 
त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी । 
त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी । 
यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।” 
तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ । 
जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्‍वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्‍वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।' 
तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो । 
'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु । 
मेरै जस्‍तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्तर्दृष्‍टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् । 
तब ती दिनमा देशमा तेरो वृद्धि हुनेछ, र तैले फल फलाउनेछस् भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ । तिनीहरूले फेरि यसो भन्‍नेछैनन्, 'परमप्रभुको करारको सन्दुक' । फेरि यो विषय तिनीहरूका हृदयमा आउनेछैन, वा सम्झना हुनेछैन । यो गुम्‍नेछैन र अर्को बनाइनेछैन ।’ 
त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्‍ट हृदयको हठमा हिंड्नेछैनन् । 
ती दिनमा यहूदाको घराना इस्राएलको घरानासँगै हिंड्नेछ । तिनीहरू उत्तरको देशबाट मैले तिनीहरूका पुर्खाहरूलाई पैतृक-सम्पत्तिको रूपमा दिएको देशमा सँगसँगै आउनेछन् । 
मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्‍ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्‍ने थिएँ । 
तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो । 
मैदानहरूमा इस्राएलका मानिसहरूको रुवाइ र चिच्‍च्याइको एउटा आवाज सुनिन्छ । किनकि तिनीहरूले आफ्ना मार्ग बद्लेका छन् । तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्सेका छन् । 
“हे विश्‍वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्‍वासघातलाई म निको पार्नेछु ।” “हेर्नुहोस्! हामी तपाईंकहाँ फर्कनेछौं किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ । 
निश्‍चय नै डाँडाहरूबाट झूट आउँछ र पर्वतहरूबाट अलमल पार्ने आवाज आउँछ । निश्‍चय नै परमप्रभु हाम्रा परमेश्‍वर इस्राएलको उद्धार हुनुहुन्छ । 
तरै पनि लाजलाग्दा मूर्तिहरूले हाम्रा पुर्खाहरूले परिश्रम गरेका तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीलाई भस्म पारेका छन् । 
हामी लाजमा पल्टौं । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौं । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको आवाजलाई सुनेका छैनौं ।” 
