﻿यशैया.
18.
सुस्‍केराको आवाज निकाल्‍ने देशलाई धिक्‍कार, जुन कु्सका नदीहरूसँगै छ । 
जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ । 
तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्‍छ, तब हेर । अनि जब तुरही बजाइन्‍छ तब सुन । 
परमप्रभुले मलाई यसो भन्‍नुभयो, “चर्को घामको उखुम तापजस्तै, कटानीको तापमा कुहिरोजस्तै म आफ्‍नो घरबाट शान्त भएर हेर्नेछु । 
कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ । 
डाँडाका चराहरू र पृथ्वीका जनावरहरूका निम्ति ती छोडिनेछन् । चराहरूले ग्रीष्मको समय तिनीहरूमा बिताउनेछन् र पृथ्वीका सबै जनावरहरूले तिनीहरूमा हिउँद बिताउनेछन् ।” 
त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् । 
