﻿यशैयाको पुस्तक.
1.
यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन । 
ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् । 
गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन ।” 
धिक्‍कार ! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू ! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् । 
तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ । 
शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् । 
तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् । 
सियोनकी छोरीलाई दाखबारीको कटेरोझैं, काँक्राबारीको छायाझैं र घेरा हालिएको सहरझैं त्यागिएको छ । 
सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्‍ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं। 
ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन । 
परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरूका असंख्‍य बलिदानहरू मेरो निम्‍ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्‍त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्‍न । 
तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा छ? 
व्यार्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्‍ट सभाहरू म सहन सक्दिनँ । 
तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु । 
त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् । 
नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ । खराब हुन छोड । 
असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।” 
परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन् । 
तिमीहरू आज्ञाकारी र इच्‍छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ, 
तर तिमीहरूले इन्कार गर्‍यौ र विद्रोह गर्‍यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ” किनकि परमप्रभुको मुखले यसो भन्‍नुभएको छ । 
विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ । 
तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ । 
तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् । 
यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु । 
म आफ्‍ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु । 
म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्‍लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्‍वासयोग्य नगर भनिनेछौ ।” 
सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्‍चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ । 
विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्‍नेहरू नष्‍ट हुनेछन् । 
किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ । 
किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ । 
बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्‍नेछन् र कसैले पनि ती निभाउनेछैन ।” 
