﻿हितोपदेश.
22.
धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो । 
धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्‍टिकर्ता परमेश्‍वर हुनुहुन्छ । 
विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ । 
विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् । 
टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्‍ने छन् । 
बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन । 
धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ । 
अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ । 
उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ । 
खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन् । 
शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ । 
परमप्रभुको दृष्‍टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्‍वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ । 
अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।” 
व्यभिचारी स्‍त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्‍नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ । 
बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ । 
आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ । 
आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा । 
किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ । 
तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु । 
के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र ? 
तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र ? 
गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर, 
किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ । 
रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् । 
नत्रता तैँले त्यसका मार्गहरू सिक्‍ने छस्, र तेरो प्राण पासोमा पर्ने छ । 
धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् । 
तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ ? 
तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा । 
के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस् ? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन । 
