﻿हितोपदेश.
17.
कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो । 
बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ । 
चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, तर परमप्रभुले नै हृदय जाँच गर्नुहुन्छ । 
खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ । 
गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्‍टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन । 
नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् । 
सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ! 
घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ । 
चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्‍याउनेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ । 
मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ । 
दुष्‍ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रुर दूत पठाइन्छ । 
मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्‍चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ । 
जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन । 
द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल । 
दुष्‍ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् । 
बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन ? 
मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्‍टको समयको लागि जन्मेका हुन्छन् । 
बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ । 
द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्‍डी भँचाउने छ । 
कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ । 
जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन । 
आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ । 
न्यायको मार्गलाई बङ्ग्याउन दुष्‍ट मानिसले गुप्‍त घुसलाई स्वीकार गर्छ । 
समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ । 
मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो । 
धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्‍ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ । 
ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ । 
चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ । 
