﻿हितोपदेश.
11.
बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ । 
जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ । 
सोझाहरूको निष्‍ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्‍वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्‍ट गर्छन् । 
क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ । 
खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ । 
परमेश्‍वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् । 
दुष्‍ट मानिस मर्दा त्यसको आशा नष्‍ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ । 
धर्मात्मा सङ्कष्‍टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्‍टमाथि आइपर्छ । 
ईश्‍वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्‍ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् । 
धर्मी मानिसहरूले उन्‍नति गर्दा सहर नै रमाउँछ, तर दुष्‍टहरू नष्‍ट हुँदा रमाहट हुन्छ । 
परमेश्‍वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्‍टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ । 
आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ । 
चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्‍वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ । 
बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ । 
परदेशीको लागि ऋणको जमानी बस्‍नेले निश्‍चय नै हानि भोग्‍ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ । 
अनुग्रही स्‍त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् । 
दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्‍याउँछ । 
दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ । 
ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ । 
कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ । 
यो कुरो निश्‍चित छ, कि दुष्‍ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् । 
विवेकहीन सुन्दरी स्‍त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो । 
धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् । 
जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ । 
उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ । 
अन्‍न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ । 
परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ । 
आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् । 
आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ । 
धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ । 
धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्‍ट र पापीले झन् कति बढी पाउलान्! 
