﻿भजनसंग्रह.
105.
परमप्रभुलाई धन्यवाद देओ । उहाँको नाउँमा पुकारा गर । उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर । 
उहाँको निम्ति गाओ । उहाँको स्‍तुति गाओ । उहाँका सबै अचम्मका कामहरूका बारेमा भन । 
उहाँको पवित्र नाउँमा गर्व गर । परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्‍दित होस् । 
परमप्रभु र उहाँको शक्तिको खोजि गर । उहाँको उपस्थितिको निरन्‍तर खोजी गर । 
उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर, 
ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो । 
उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् । 
उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ । 
आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ । 
यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो । 
उहाँले भन्‍नुभयो, “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु ।” 
तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्‍नुभयो । 
तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए । 
उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो । 
उहाँले भन्‍नुभयो, “मेरो अभिषिक्‍त जनलाई नछोओ र मेरा अगमवक्‍ताहरूका हानि नगर ।” 
उहाँ देशमा अनिकाल ल्याउनुभयो । उहाँ खानेकुराको सारा आपूर्ती बन्‍द गर्नुभयो । 
उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए । 
तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो, 
तिनले जे भनेका थिए सो हुन नआएसम्म । परमप्रभुको वचनले तिनको जाँच गर्‍यो । 
तिनलाई मुक्‍त गर्न राजाले सेवकहरू पठाए । मानिसहरूका शासकले तिनलाई मुक्‍त गरे । 
उनले तिनलाई आफ्‍नो सारा सम्पत्तिको शासकको रूपमा आफ्‍नो दरवारको निरीक्षक बनाए, 
तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्‍लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन । 
त्‍यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे । 
परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो । 
उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो । 
आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो । 
तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे । 
उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्‍यारो बनाउनुभयो, तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् । 
उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो । 
तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए । 
उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए । 
तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो । 
उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्‍जीरका रूखहरू नष्‍ट पार्नुभयो । उहाँ तिनीहरूका देशका रूखहरू भाँच्‍नुभयो । 
उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए । 
सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए । तिनीहरूले जमिनका सबै फसलहरू खाए । 
तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो । 
उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्‍ये कुनैले पनि बाटोमा ठेस खाएन । 
तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए । 
उहाँले ढाक्‍नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्‍नुभयो । 
इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्‍तुष्‍ट पार्नुभयो । 
उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्‍यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे । 
किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो । 
आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो । 
उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए, 
ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून् । परमप्रभुको प्रशंसा गर । 
