﻿भजनसंग्रह.
102.
हे परमप्रभु, मेरो प्रार्थन सुन्‍नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्‍नुहोस् । 
मेरो कष्‍टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्‍नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्‍तै जवाफ दिनुहोस् । 
किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् । 
मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु । 
मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु । 
म उजाडस्‍थानको धनेसझैं भएको छु । भग्‍नावशेषको लाटोकोसेरोझैं म भएको छु । 
एक्‍लिएको चराझैं छानामाथि म एक्‍लै जागा रहन्छु । 
मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् । 
खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु । 
तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्‍नलाई माथि उचाल्नुभएको छ । 
मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु । 
तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ । 
तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ । 
किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्‍नावशेषका धूलोप्रति दयाको महसुस गर्छ । 
हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् । 
परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ । 
त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ । उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन । 
यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्‍म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् । 
किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ, 
कैदीहरूका विलाप सुन्‍न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन । 
तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्, 
जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् । 
उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ । 
मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ । 
प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् । 
तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् । 
तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन । 
तपाईंका सेवकहरूका सन्तानहरू निरन्‍तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।” 
