﻿भजनसंग्रह.
88.
हे परमप्रभु, मेरो उद्धारको परमेश्‍वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु । 
मेरो प्रार्थना सुन्‍नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् । 
किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ । 
मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ । 
म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्‍न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्‍छन् । 
तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्‍नुहुन्छ । 
तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला 
तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्‍ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्‍स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ । 
मेरा आँखाहरू कष्‍टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु । 
के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला 
के तपाईंको करारको विश्‍वस्‍तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र? 
के तपाईंका अचम्‍मका कामहरू अन्‍धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र? 
तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ । 
हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ? 
मेरो जवान अवस्थादेखि नै म सधैं कष्‍टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु । 
तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्‍दा कामहरूले मलाई नाश पारेका छन् । 
तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् । 
तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो । 
