﻿भजनसंग्रह.
73.
निश्‍चय नै परमेश्‍वर इस्राएलको निम्‍ति, शुद्ध हृदय हुनेहरूका निम्‍ति भला हुनुहुन्छ । 
तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्‍ले । 
किनभने जब मैले दुष्‍टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें । 
किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्‍छन् । 
अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्‍त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्‍ट हुँदैन । 
तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्‍त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्‍नेछ । 
यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्‍ट विचारहरू जान्छन् । 
तिनीहरू दुष्‍टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्‍नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् । 
आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्‍छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् । 
यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्‍त पानी बगाइन्छ । 
तिनीहरू भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ? के सर्वोच्‍चसँग ज्ञान छ र?” 
हेर्नुहोस्ः यी मानिसहरू दुष्‍टहरू हुन् । तिनीहरू निश्‍चिन्त छन् र झन्-झन् धनी हुँदैछन् । 
निश्‍चय नै मैले व्यार्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषतामा मेरा हातहरू धोएको छु । 
किनकि म दिनभरि कष्‍टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु । 
“म यी कुराहरू भन्‍नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ । 
मैले यी कुराहरू बुझ्‍ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो । 
तब म परमेश्‍वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्‍तिम अवस्‍थालाई बुझें । 
निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्‍लो ठाउँहरूमा राख्‍नुहुन्‍छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्‍छ । 
तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए । 
कोही ब्युँझँदा, ती सपनामा भएजस्तो हुन्‍छन् । हे परमप्रभु, जब तपाई खडा हुनुहुन्छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्‍न । 
किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ । 
म मूर्ख थिएँ र अन्तरदृष्‍टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ । 
तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ । 
तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ । 
स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्‍वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन । 
मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्‍वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ । 
तपाईंदेखि टाढा हुनेहरू नष्‍ट हुनेछन् । तपाईंप्रति विश्‍वासयोग्‍य नहुनेहरूलाई तपाईंले नष्‍ट पार्नुहुनेछ । 
तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्‍वरको नजिक जाने हो । परमप्रभु परमेश्‍वरलाई मैले आफ्‍नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु । 
