﻿भजनसंग्रह.
66.
हे सारा पृथ्वी, परमेश्‍वरको निम्ति आनन्दले कराओ । 
उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ । 
परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् । 
सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला 
आओ र परमेश्‍वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ । 
उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्‍दित भयौं । 
उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्‍च नपारून् । सेला 
हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् । 
उहाँले हामीलाई जीवितहरूका माझमा राख्‍नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्‍लन दिनुहुन्‍न । 
हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच्‍नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ । 
तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्‍नुभयो । 
तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो । 
म तपाईंको मन्‍दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्‍नो भाकल पुरा गर्नेछु, 
जुन म संकष्‍टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले । 
म तपाईंलाई थुमाहरूको सुगन्धित बास्‍नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला 
हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु । 
मैले आफ्‍नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्‍यो । 
मैले आफ्‍नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्‍नुहुनेथिएन । 
तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ । 
परमेश्‍वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्‍वस्‍ततालाई मबाट हटाउनुभएको छैन । 
