﻿भजनसंग्रह.
38.
हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् । 
किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ । 
तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् । 
किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्‍यादै गह्रौं भारी हुन् । 
मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् । 
म कुप्रिन्‍छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्‍छु । 
किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन । 
म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु । 
हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्‍नुहुन्छ र मेरा सुस्‍केराहरू तपाईंबाट लुकाइएका छैनन् । 
मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् । 
मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् । 
मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् । 
तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्‍दिन । म गुँगो मानिसजस्‍तो भएको छु जसले केही भन्‍दैन । 
म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन । 
हे परमप्रभु, निश्‍चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ । 
म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् । 
किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु । 
म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु । 
तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् । 
तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् । 
हे परमप्रभु, मलाई नत्याग्‍नुहोस् । हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस् । 
हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस् । 
