﻿भजनसंग्रह.
21.
हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन् ! 
तिनको मन इच्छा तपाईंले तिनलाई पुरा गर्नुभएको छ र तिनको ओठको बिन्ती तपाईंले बाँकी राख्‍नुभएको छैन । 
किनकि तपाईंले तिनलाई भरपूर आशिष्‌हरू दिनुहुन्छ, तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्छ । 
तिनले तपाईंलाई जीवन मागे । तपाईंले त्‍यो तिनलाई दिनुभयो । तपाईंले तिनलाई सदासर्वदाको निम्ति लामो आयु दिनुभयो । 
तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ । 
किनकि तपाईंले तिनलाई सदाको आशिष्‌‌‌ दिनुहुन्छ । आफ्‍नो उपस्थितिले आनन्दते तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्छ । 
राजाले परमप्रभुमा भरोसा गर्छन् । सर्वोच्‍चको करारको विश्‍वस्‍तताले तिनी डग्‍नेछैनन् । 
तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्‍नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ । 
तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ । 
तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ । 
किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्‍छा गरे । तिनीहरूले एउटा षड्यन्त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन् । 
किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्‍नो धनुमा तान्‍नुहुनेछ । 
हे परमप्रभु, आफ्‍नो बलमा उच्‍च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्‍तुति गर्छौं । 
