﻿अय्यूब.
38.
तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्‍नुभयो, 
“ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो ? 
अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ । 
मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस् ? तँसित धेरै समझशक्ति छ भने मलाई भन् । 
यसको नाप कसले निधो गर्‍यो ? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो ? 
के कुरा माथि यसका जगहरू बसालिए ? यसको कुने-ढुङ्गो कसले बसाल्यो ? 
कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्‍वरका सबै छोराहरूले आनन्‍दले चिच्‍च्याए । 
गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो ? 
कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ ? 
त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ, 
अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु ।' 
के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्‍यसको ठाउँ चिनाएको छस्, 
जसको कारणले त्‍यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्‍टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस् ? 
छाप मुनिको माटोको आकार बदलिएझैं स्‍वरूपमा पृथ्वी बद्लिन्छ । एउटा लुगा कच्‍चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन् । 
दुष्‍टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ । तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ । 
के तँ समुद्रको पानीको मूलमा गएको छस् ? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस् ? 
के मृत्युका ढोकाहरू तँलाई देखाइएको छ ? के तैंले मृत्युका छायाका ढोकाहरू देखेको छस् ? 
के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस् ? तँलाई यो सबै थाहा छ भने मलाई भन् । 
ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ ? 
ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस् ? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस् ? 
त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह, तँलाई थाहा हुन्‍छ । तेरो उमेर धेरै भइसकेको हुन्छ ! 
हिउँका भण्डारहरूभित्र तँ पसेको छस् ? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस् ? 
यी कुराहरू मैले सङ्कष्‍टको समयको निम्‍ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेको छु । 
बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ ? 
झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ, 
कुनै व्‍यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई, 
सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई ? 
के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो ? 
कसको गर्भबाट बरफको जन्‍म भयो ? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो ? 
पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्‍छ । 
के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्‍न सक्छस् ? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस् ? 
के तैंले तारामण्डलहरूलाई तिनीहरूको आफ्नो ऋतुमा प्रकट गराउन सक्छस् ? के तैंले सप्‍तर्षि तारा र त्यसको दललाई डोर्‍याउन सक्छस् ? 
के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस् ? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस् ? 
के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ ? 
के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून्, तिनले तँलाई यसो भनून्, 'हामी यहाँ छौं ?' 
बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ ? 
कसले आफ्नो सिपद्वारा बादललाई गन्‍न सक्छ ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ, 
जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ ? 
के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस्, 
जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्‍तमा लुकेर पर्खिरहन्‍छन् ? 
कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्‍न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ ? 
