﻿अय्यूब.
15.
तब एलीपज तेमानीले जवाफ दिए र भने, 
“के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू ? र के आफैलाई पूर्वीय बतासले भर्नू ? 
के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्‍ने बोलीले तर्क गर्नू ? 
वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ । 
किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्‍नुभयो । 
तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ । 
जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र ? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र ? 
तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र ? 
तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन ? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस् ? 
कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् । 
परमेश्‍वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्‍यादै तुच्‍छ छन् र ? 
तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ ? तपाईंका आँखा किन चम्किन्छन् ? 
जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ ? 
मानिस के हो र ऊ शुद्ध हुनुपर्‍यो ? स्‍त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्‍यो ? 
हेर्नुहोस्, परमेश्‍वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न । वास्तवमा उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन । 
घृणित र भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ। 
म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्‍नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु, 
बुद्धिमान् मानिसहरूले आफ्‍ना पुर्खाहरूबाट हस्‍तान्‍त्रण गरेका कुरा, तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्‍नेछु । 
यी तिनीहरूका पुर्खाहरू थिए, जसलाई मात्र यो देश दिइएको थियो, र जसका बिचमा कुनै विदेशी बसेन । 
दुष्‍टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन् । दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्‍ख्‍या तोकिएका छन् । 
उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ । 
अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ । 
ऊ रोटी खोज्‍दै विभिन्‍न ठाउँमा यसो भन्‍दै जान्‍छ, ‘खोई त्‍यो कहाँ छ ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ । 
निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्‍व जमाउँछन् । 
परमेश्‍वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ, 
यो दुष्‍ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्‍वरलाई आक्रमण गर्न दौडन्छ । 
आफ्‍नो अनुहार आफ्‍नो बोसोले ढाकेको, अनि आफ्‍नो कम्मरमा बोसो जाम्‍मा गरेको भए पनि, 
र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए । 
ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन । 
उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ । 
आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ । 
उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन । 
नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ । 
किनकि ईश्‍वरहीन मानिसहरूको समूह बाँझो हुनेछ । तिनीहरूको घुसका पालहरूलाई आगोले भष्‍म पार्नेछ । 
तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ । 
