﻿अय्यूब.
13.
हेर्नुहोस्, मेरो आँखाले यो सबै देखेका छन् । मेरो कानले यसलाई सुनेको छ, र बुझेको छ । 
तपाईंहरू जे जान्‍नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ । 
तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु । 
तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्‍छ वैद्यहरू हुनुहुन्छ । 
तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ । 
अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् । 
परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र ? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र ? 
उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र ? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र ? 
उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त ? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र ? 
तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्काउनुहुन्‍छ । 
उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र ? उहाँको डर तपाईंहरूमाथि पर्दैन र ? 
तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् । 
तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ । मलाई जे हुनु छ होस् । 
म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु । 
हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु । 
यो नै मेरो छुटकाराको कारण हुनेछ, किनकि ईश्‍वरहीन व्यक्ति उहाँको सामु आउँदैन । 
हे परमेश्‍वर, मेरो कुरा ध्‍यानले सुन्‍नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् । 
हेर्नुहोस्, आफ्‍नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्‍दछु । 
मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु । 
हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ । 
आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् । 
तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् । 
मेरा अधर्म र पाप कति धेरै छन् ? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् । 
आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ ? 
तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र ? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र ? 
किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ । 
तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ । तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ । मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्‍नुहुन्छ । 
यद्यपि म खेर जाने सडेगलेको कुराजस्‍तै, किराहरूले खाएको एउटा वस्‍त्रजस्‍तै छु । 
