﻿अय्यूब.
6.
तब अय्यूबले जवाफ दिए र भने, 
“हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए, 
किनकि अहिले त्‍यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् । 
सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् । 
के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र ? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र ? 
के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ र ? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ र ? 
म तिनलाई छुन पनि इन्कार गर्छु । मेरा लागि ती घृणित खानेकुरा हुन् । 
हाय! मैले बिन्ती गरेको कुरा मसित भए ! हाय, मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए ! 
मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ ! 
यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ । 
मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र ? मैले आफ्‍नो जीवनलाई लम्‍ब्‍याउनुपर्ने मेरो अन्त्य के हो ? 
के मेरो बल ढुङ्गाहरूका बल हो र ? अर्थात् मेरो मासु काँसाबाट बनेको छ ? 
म आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र ? 
मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्‍वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्‌को भयलाई त्याग्‍छ । 
तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्‍वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्‍ने पानीको नहरझैं, 
तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्‍ने हिउँको कारणले अँध्‍यारो भएका छन् । 
जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् । 
आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्‍न पाखा लाग्‍छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्‍ट हुन्छन् । 
तेमाबाट आएका यात्रु-दलले त्‍यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे । 
तिनमा पानी भेट्टाउने निश्‍चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्यहाँ गए, तर तिनीहरू धोकामा परे । 
किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ । 
के मैले तपाईंलाई यसो भनें, 'मलाई केही कुरा दिनुहोस् ?' अथवा ‘आफ्‍नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस् ?’ 
अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस् ?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस् ?' 
मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्‍ट पार्नुहोस् । 
इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्‍चै हप्काउँछन् र ? 
मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्‍छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्‍छ ? 
वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्‍नुहुन्‍छ, र बेच्ने सामनझैं आफ्नो मित्रको मूल्‍य तोक्‍नुहुन्‍छ । 
त्यसकारण अब कृपया मलाई हेर्नुहोस्, किनकि म निश्‍चय नै तपाईंको सामु झुट बोल्दिनँ । 
मेरो बिन्ती छ, कोमल हुनुहोस् । तपाईंसित कुनै अन्याय नहोस् । वास्तवमै कोमलो हुनुहोस्, किनकि मेरो समस्‍या न्‍यायोचित छ । 
के मेरो जिब्रोमा खराबी छ र ? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्ट्याउन सक्दैन र ? 
