﻿अय्यूब.
3.
यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे । 
तिनले भने, 
“म जन्मेको दिन नष्‍ट होस्, त्‍यो रात जसले भन्‍यो, 'एउटा बालकको गर्भधारण भएको छ ।' 
त्यो दिन अन्धकार होस् । परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस् । 
अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस् । 
निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् । 
हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् । 
लिव्यातन्‌लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् । 
त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् । 
किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्‍टलाई लुकाएन । 
मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ ? 
उनका घुँडाहरूले मलाई किन स्वागत गरे ? मैले दूध चुस्‍नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे ? 
किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें, 
पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्‍वस्‍त छन् । 
अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्‍थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए । 
अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें । 
त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् । 
त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन् । तिनीहरूले कमाराको नाइकेको सोर सुन्‍नुपर्दैन । 
त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन् । नोकर आफ्नो मालिकबाट स्‍वतन्‍त्र हुन्छ । 
दुःखमा हुनेलाई किन ज्योति दिइन्छ ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ ? 
जसले मृत्यु नै नआई त्‍यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्‍दा धेरै मृत्यको लागि खाडल खन्‍छ । 
जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ ? 
जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ ? 
किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ । 
जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ । 
म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्‍ट आउँछ ।” 
