﻿२ इतिहास.
17.
आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए । 
तिनले यहूदाका किल्‍ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे । 
परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्‍ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् । 
बरू, तिनले आफ्‍ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्‍यवहारअनुसार होइन । 
यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्‍पत्ति र ख्‍याति प्रशस्‍त थियो । 
तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे । 
आफ्‍नो राजकालको तेस्रो वर्षमा तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए । 
तिनीहरूसँग लेवीहरू शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए । 
तिनीहरूले आफूसित परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए । 
यहूदाको वरिपरि भएका सबै राज्‍यहरूमा परमप्रभुको भय पर्‍यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌ । 
पलिश्‍तीमध्‍ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्‍याए । अरबीहरूले तिनका निम्‍ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्‍याए । 
यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए । 
यहूदाका सहरहरूमा तिनीसँग प्रशस्‍त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए । 
तिनीहरू आआफ्‍नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू । 
तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू। 
तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू । 
बेन्‍यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्‍यादा, र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज । 
तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज । 
यिनीहरू यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए । 
