﻿१ इतिहास.
24.
हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार । 
नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे । 
दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे । 
ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो । 
तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए । 
नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो । 
पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको, 
तेस्रो हारीमको, चौथो सोरीमको, 
पाँचौं मल्‍कियाहको, छैटौं मियामीनको, 
सातौं हक्‍कोसको, आठौं अबियाको, 
नवौं येशूअको, दशौं शकन्‍याहको, 
एघारौं एल्‍यासीबको, बाह्रौं याकीमको, 
तेह्रौं हुप्‍पाको, चौधौं येशेबाबको, 
पन्‍ध्रौं बिल्‍गाको, सोह्रौं इम्‍मेरको, 
सत्रौं हेजीरको, अठारौं हप्‍पिसेसको, 
उन्‍नाईसौं पतहियाहको, बीसौं यहेजकेलको, 
एक्‍काईसौं याकीनको, बाईसौं गमूएलको, 
तेईसौं दलायाहको र चौबीसौं माज्‍याहको नाउँमा निस्‍क्‍यो । 
परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो । 
बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह । 
रहब्‍याहका छोराहरूबाटः अगुवा यिशियाह । 
यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत । 
हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम । 
उज्‍जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर । 
मीकाका भाइः यिश्‍याह । यिश्‍याहका छोराहरूबाट: जकरिया । 
मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो । 
यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्‍कूर र इब्री । 
महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ । 
कीशबाट: कीशका छोराः यरहमेल । 
मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए । 
आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले । 
