﻿१ शमूएल.
21.
पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्‍लै हुनुहुन्‍छ र तपाईंसँग कोही पनि छैनन्?” 
दाऊदले पुजारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्‍तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्‍यसको बारेमा कसैलाई थाहा नहोस् ।' कुनै निश्‍चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु । 
अहिले तपाईंसँग के छ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस् ।” 
पुजारीले दाऊदलाई जवाफ दिए र भने, “मसँग कुनै साधारण रोटी त छैन, तर ती जवान मानिहरू स्‍त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी छ । 
दाऊदले पुजारीलाई जवाफ दिए, “सदाझैं बाहिर म जाँदा हामीबाट तिन दिनदेखि स्‍त्रीहरू अलग गरिएको छन् । साधारण काममा जाँदा समेत मानिससित सम्‍बन्‍धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन् । तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन् ।” 
त्यसैले पुजारीले तिनलाई चढाइएको रोटी दिए । किनकि त्यहाँ उपस्थितिको रोटीबाहेक अरू कुनै रोटी थिएन, जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्‍यसको सट्टामा तातो रोटी राखिएको थियो । 
त्यस दिन शाऊलका सेवकहरूमध्‍ये एक जना परमप्रभुको सामु रोकिएको थियो । त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो । 
दाऊदले अहीमेलेकलाई भने, “के यहाँ कुनै भाला वा तरवार छैन? किनकि मैले न त मेरो तरवार न हतियार नै ल्याएँ, किनभने राजाको काम जरूरी थियो ।” 
पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।” 
त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए । 
आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन् ?'” 
दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए । 
उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे । तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए । 
तब आकीशले आफ्ना सेवकहरूलाई भने, “हेर, यो मानिस पागल भएको तिमीहरू देख्‍दैछौ । यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ? 
के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ? के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ?” 
