﻿न्यायकर्ताहरू.
9.
यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने, 
“यो कुरा सोध्‍नुहोस् ताकि शकेमका सबै अगुवाहरूले सुन्‍न सकून्, ‘तपाईंहरूका निम्ति के असल हुन्‍छ, यरूब-बालका सबै सत्तरी जना छोराले तपाईंहरूमाथि शासन गरेको, कि एक जनाले मात्र शासन गरेको?’ म तपाईंहरूकै हाड र मासु हुँ भन्‍ने कुरा सम्झनुहोस् ।” 
तिनकी आमाका नातेदारहरूले तिनको बारेमा शकेमका अगुवाहरूसँग कुरा गरे, र तिनीहरू अबीमेलेकको पछि लाग्‍न सहमत भए, किनकि तिनीहरूले भने, “उनी हाम्रै भाइ हुन् ।” 
उनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरीवटा सिक्‍का दिए र अबीमेलेकले ती सिक्‍काले हुर्दुङ्गे र साहसी मानिसहरू भाडामा लिए, जो तिनको पछि लागे । 
अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए, र तिनले एउटा ढुङ्गामा आफ्ना सत्तरी जना दाजुभाइ, यरूब-बालका छोराहरूलाई मारे । यरूब-बालका कान्छा छोरा, योताममात्र बाँकी रहे, किनभने उनी लुकेका थिए । 
शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए । 
जब योतमलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए । तिनले ठुलो सोरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून् । 
एकपल्‍ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्‍य गर्नुहोस् ।’ 
तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्‍मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’ 
ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’ 
तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’ 
ती रूखहरूले दाखको बोटलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’ 
दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’ 
अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’ 
त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्‍चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस । होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस् ।’ 
अब यसकारण, के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्यता र इमान्दारितामा काम गरेका छौ, र तिमिहरूले यरूब-बाल र उनका घरानालाई ठिक व्यवहार गरेका छौ, र उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने, 
र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने, 
तर तिमीहरू त मेरा बुबाका घरानाका विरुद्धमा उठेका छौ र उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामा मारेका छौ । अनि तिमीहरूले उनकी कमारीको छोरो, अबीमेलेकलाई शकेमका अगुवाहरूमाथि राजा तुल्याएका छौ, किनभने त्यो तिमीहरूको नातेदार हो । 
तिमीहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेका भए, तिमीहरू अबीमेलेकमा खुशी रहो, र ऊ पनि तिमीहरूसँग खुशी रहोस् । 
तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।” 
योताम भागेर बेअरमा गए । उनी त्यहाँ बसे किनभने त्यो ठाउँ उनको दाजु अबीमेलेकबाट धेरै टाढा थियो । 
अबीमेलेकले इस्राएलमाथि तिन वर्षसम्‍म राज्य गरे । 
परमेश्‍वरले अबीमेलेक र शकेमका अगुवाहरूबिच एउटा दुष्‍ट आत्मा पठाउनुभयो । शकेमका अगुवाहरूले अबीमेलेकप्रतिको विश्‍वासमा धोका दिए । 
यरूब-बालका सत्तरी जना छोराको हत्याको बदलास्वरूप, र तिनीहरूका हत्याको निम्ति तिनीहरूका भाइ अबीमेलेक दोषी होस्, र तिनीहरूलाई मार्नको निम्ति शकेमका मानिसहरूले उनलाई सहायता गरेका हुनाले तिनीहरू दोषी होऊन् भनेर परमेश्‍वरले यस्तो गर्नुभयो । 
यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे, र त्यो बाटो भएर हिंड्ने सबैलाई तिनीहरूले लुटे । यस बारेमा अबीमेलेकलाई भनियो । 
एबेदका छोरा गाल आफ्ना नातेदारहरूसँग आए र तिनीहरू शकेममा गए । शकेमका अगुवाहरूले तिनीमाथि भरोसा गर्थे । 
तिनीहरू बाहिर खेतमा गए र दाखका बोटहरूबाट दाखहरू बटुले, र तिनीहरूलाई कुल्चे । आफ्‍ना देवताहरूका मन्‍दिरमा तिनीहरूले एउटा चाड मनाए, र त्यहाँ तिनीहरूले खाए र पिए, र तिनीहरूले अबीमेलेकलाई सरापे । 
एबेदका छोरा गालले भने, “अबीमेलेक को हो, र शकेम को हो, कि हामीले त्यसको सेवा गर्नुपर्ने? के त्यो यरूब-बालको छोरा होइन? के जबूल त्यसको अधिकारी होइन? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने? 
यी मानिसहरू मेरो कमाण्‍डमा भएदेखि म अबीमेलेकलाई हटाइदिनेथिएँ । मैले अबीमेलेकलाई भन्‍नेथिएँ, ‘तेरो सबै सेनालाई बाहिर बोला ।’” 
जब सहरका अधिकारी जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी रिसले चूर भए । 
तिनले धोका दिने उद्देश्यले अबीमेलेककहाँ दूतकहरू पठाए, र यसो भन्‍न लगाए, “हेर्नुहोस्, एबेदका छोरा गाल र तिनका नातेदारहरू शकेममा आउँदैछन्, र तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन् । 
अब, तपाईं र तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस्, र मैदानमा आक्रमण गर्नलाई तयार बस्‍नुहोस् । 
अनि बिहान, घाम उदाउने बित्तिकै, उठ्नुहोस् र सहरमा आक्रमण गर्नुहोस् । जब तिनी र तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन्, तब तिनीहरूलाई के गर्नुपर्छ त्यो गर्नुहोस् ।” 
यसैकारण अबीमेलेक, र उनीसँग भएका सबै मानिस रातको समयमा उठे, र शकेमलाई आक्रमण गर्नको निम्ति चार समुहमा विभाजित भई ढुकेर बसे । 
एबेदका छोरा गाल बाहिर निस्के र सहरको ढोकामा खडा भए । अबीमेलेक र उनीसँग भएका मानिसहरू तिनीहरू लुकिरहेका ठाउँबाट बाहिर निस्के । 
जब गालले मानिसहरूलाई देखे, उनले जबूललाई भने, “हेर, मानिसहरू डाँडाका चुचुराबाट तल आउँदैछन्!” जबूलले तिनलाई भने, “तिमीले जे देख्दैछौ त्यो मानिसहरूजस्ता डाँडाका छाया हुन् ।” 
गालले फेरि बोले र यसो भने, “हेर, मानिसहरू तल मैदानको बिचमा आइरहेका छन् र एउटा समुहचाहिं जोखना हेर्नेको रूखको बाटो हुँदै आउँदैछ ।” 
अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्? तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?’ तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड ।” 
गाल बाहिर निस्के र तिनी शकेमका मानिसहरूका अगि-अगि गए, र तिनले अबीमेलेकसँग युद्ध लडे । 
अबीमेलेकले तिनलाई खेदे र गाल तिनको सामुबाट भागे । सहरको ढोकामा धेरै जना घाइते भएर मरे । 
अबीमेलेक अरूमाहमा बसे । जबूलले गाल र तिनका नातेदारहरूललाई शकेमबाट बाहिर निकाले । 
अर्को दिन शकेमका मानिसहरू मैदानमा निस्के, र यस कुराको जानकारी अबीमेलेकलाई दिइयो । 
तिनले आफ्ना मानिसहरू लिए, उनीहरूलाई तिन समुहमा बाँडे, र तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे । उनले हेरे र सहरबाट मानिसहरू बाहिर आइरहेका देखे, र उनले आक्रमण गरे र तिनीहरूलाई मारे । 
अबीमेलेक र उनीसँग भएका समुहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए । अरू दुई समुहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे र तिनीहरूलाई मारे । 
अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे । तिनले त्यो सहरमाथि कब्जा गरे, र त्यहाँ भएका मानिसहरूलाई मारे । तिनले सहरका पर्खालहरूलाई भत्काइदिए र त्यसमाथि नून छरिदिए । 
शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने, तब तिनीहरू एल-बरीतको मन्‍दिरको किल्‍लामा प्रवेश गरे । 
सबै अगुवाहरू शकेमको किल्लामा भेला भएका छन् भनेर अबीमेलेकलाई बताइयो । 
अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए । अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे । तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्यसै गर ।” 
यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे । 
त्यसपछि अबीमेलेक तेबेसमा गए, र उनले तेबेसको विरूद्ध छाउनी हाले र त्यसलाई कब्जा गरे । 
तर त्यस सहरमा एउटा बलियो किल्ला थियो, अनि त्यस सहरका सबै पुरुष र स्‍त्री र सबै अगुवाहरू त्यहाँ भागेर भित्रबाट ढोका थुने । तब तिनीहरू त्यस किल्लाको टुप्पोमा गए । 
अबीमेलेक त्‍यो किल्लामा आए र त्यसको विरुद्ध लडे, र त्यस किल्लालाई जलाउन भनेर तिनी त्यसको ढोकानजिक आइपुगे । 
तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो । 
त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे । 
जब इस्राएलका मानिसहरूले अबीमेलेक मरेको देखे, तिनीहरू घर फर्के । 
यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्‍टताको बदला लिनुभयो । 
परमेश्‍वरले शकेमका मानिसहरूका दुष्‍टतालाई तिनीहरूकै टाउकोमा खन्याइदिनुभयो र तिनीहरूमाथि यरूब-बालका छोरा योतामको सराप पर्‍यो । 
