﻿व्यवस्था.
11.
त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू । 
ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा, 
चिन्हहरू र कार्यहरू देखेका छैनन् जुन उहाँले मिश्रमा त्यहाँका राजा फारो र तिनका सबै देशमा गर्नुभयो । 
उहाँले मिश्रका सेना, तिनीहरूका घोडाहरू वा तिनीहरूका रथहरू र तिनीहरूले तिमीहरूलाई खेद्दा कसरी नर्कटको समुद्रको पानीले तिनीहरूलाई डुबायो र आजको दिनसम्म कसरी परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभयो 
वा तिमीहरू यस ठाउँसम्म नआइपुगुञ्‍जेलसम्म उहाँले तिमीहरूलाई उजाड-स्थानमा के गर्नुभयो भनी तिनीहरूले देखेनन् । 
रूबेनवंशी एलिआबका छोराहरू दातान र अबीरामलाई सारा इस्राएलको बिचमा परमप्रभुले के गर्नुभयो र कसरी धरतीले आफ्नो मुख बाएर तिनीहरू, तिनीहरूका घरानाहरू, तिनीहरूका पालहरू र तिनीहरूको पछि लाग्‍ने हरेक जीवित वस्तुलाई निल्यो भनी तिनीहरूले देखेनन् । 
तर परमप्रभुले गर्नुभएका सबै महान् कामहरू तिमीहरूका आँखाले देखेका छन् । 
त्यसकारण आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ताकि तिमीहरू बलिया भई तिमीहरूले पारि गई अधिकार गर्ने देशलाई अधिकार गर्न सक, 
र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् । 
किनकि तिमीहरू अधिकार गर्न जान लागेको देश मिश्र देशजस्तो होइन जहाँबाट तिमीहरू आयौ, जहाँ तिमीहरूले बिउ रोप्यौ र बारीमा झैँ खुट्टाले पानी हाल्यौ । 
तर तिमीहरू अधिकार गर्न जाने देश पहाड र बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ । 
यो परमप्रभु तिमीहरूका परमेश्‍वरले देखरेख गर्नुहुने देश हो । परमप्रभु तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्म सदैव यसमाथि हुन्छ । 
तिमीहरूका सारा ह्रदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने 
म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक । 
म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु, र तिमीहरू खाएर तृप्‍त हुने छौ । 
ध्यान देओ, नत्रता तिमीहरू ठगिने छौ र अन्तैतिर लागेर अन्य देवताहरूको पुजा गर्ने छौ र तिनीहरूको सामु निहुरने छौ । 
अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले आकाशलाई बन्द गरिदिनुहुने छ अनि वृष्‍टि रोकिने छ र जमिनले फसल उत्पादन गर्ने छैन र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुने छौ । 
त्यसकारण, मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा भण्डारण गर; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध र ती तिमीहरूका आँखाका बिचमा फेटा होऊन् । 
ती आफ्ना छोराछोरीहरूलाई सिकाओ र तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा र सुत्दा अनि उठ्दा तिनको चर्चा गर । 
तिमीहरूको घरको ढोकाको चौकोसमा र सहरका द्वारहरूमा तिनलाई लेख, 
ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् । 
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने, 
परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ । 
तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ । 
कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ । 
हेर, आज म तिमीहरूका सामु आशिष् र श्राप राख्छु । 
परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ, 
र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ । 
जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्छ तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँडामा र श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू । 
के यी डाँडाहरू पर्दनपारि, पश्‍चिमी सडकको पश्‍चिमपट्टि, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् र ? 
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जानुपर्छ र यसलाई अधिकार गरी तिमीहरू त्यहाँ बस्‍ने छौ । 
आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू । 
