﻿गन्ती.
34.
परमप्रभु मोशासँग बोल्नुभयो, 
“इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ, 
तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ । 
तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ । 
त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्‍ने छ र समुद्रमा अन्त हुने छ । 
पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ । 
तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ, 
त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ । 
अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर‍-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ । 
तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ । 
पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ । 
यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ । 
मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ । 
रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् । 
अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् । 
परमप्रभु मोशासँग बोल्नुभयो, 
“तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू । 
तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्‍नुपर्छ 
ती मानिसहरूका नाउँ यिनै हुन्ः 
यहूदाको कुलबाट यपून्‍नेका छोरो कालेब । 
शिमियोनको सन्तानहरूको कुलबाट अम्मीहुदका छोरो शेमुएल, 
बेन्यामीनको कुलबाट किसलोनका छोरो एलीदाद, दानको सन्तानहरूको कुलबाट एक जना अगुवा योगलीका छोरो बुक्‍की, 
योसेफका सन्तानहरू मनश्शेका सन्तानरूका कुलको एक जना अगुवा एपोदका छोरो हन्‍नीएल, 
एफ्राइमका सन्तानहरूका कुलबाट एक जना अगुवा शिप्‍तानको छोरो कमूएल, 
जबूलूनका सन्तानक‍हरूका कुलबाट एक जना अगुवा पर्नाकको छोरो एलीजापान, 
इस्साकारका सन्तानहरूका कुलबाट एक जना अगुवा अजानको छोरो पल्तिएल, 
आशेरको सन्ताहरूका कुलबाट एक जना अगुवा शलोमीको छोरो अहीहूद, 
नप्‍तालीको सन्तानहरूको कुलबाट एक जना अगुवा अम्मीहूदका छोरो पदहेल ।” 
परमप्रभुले यी मानिसहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो । 
