﻿गन्ती.
29.
“सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । यो तिमीहरूले तुरही फुक्‍ने दिन हुने छ । 
तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ । 
तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्‍नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, भेडाको निम्ति एक पाथी, 
र हरेक सातवटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ । 
तिमीहरूले आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ । 
यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्‍त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्‍नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्‍नबलि र यसको अर्घबलिको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्‍नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ । 
सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । 
तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ । 
तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी, 
र सातवटा थुमा हरेकको निम्ति आधा पाथी चढाउनुपर्छ । 
तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त हुने छ । 
सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ । 
तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले 
तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी, 
र चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्‍नबलिको रूपमा चढाउनुपर्छ । 
तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 
सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 
तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 
सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 
तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 
सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 
तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 
सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 
तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 
सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 
तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 
सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 
तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 
आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन । 
तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 
तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 
तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ । 
यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्‍नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।” 
परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने । 