﻿गन्ती.
22.
इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे । 
सिप्‍पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए । 
मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो । 
मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने, “यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन् ।” यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए । 
तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् । 
त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।” 
त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए । तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने । 
बालामले तिनीहरूलाई भने, “आज राती यहाँ बस्‍नुहोस् । परमप्रभुले जे भन्‍नुहुन्छ सो तपाईंलाई बताउने छु ।” त्यसैले मोआबका अगुवाहरू त्यस रात बालामसँगै बसे । 
परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “तँकहाँ आउने यी मानिसहरू को हुन् ?” 
बालामले परमेश्‍वरलाई जवाफ दिए, “सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् । तिनले भने, 
“हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् । अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस् । सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु ।” 
परमेश्‍वरले बालामलाई जवाफ दिनुभयो, “तँ तिनीहरूसँग जानुहुँदैन । तैँले इस्राएलका मानिसहरूलाई सराप दिनुहुँदैन, किनभने तिनीहरू आशिषित्् भएका छन् ।” 
बालाम बिहानै उठेर बालाकका अगुवाहरूलाई भने, “तपाईंको देशमा नै फर्केर जानुहोस्, किनभने परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभएको छ ।” 
त्यसैले मोआबका अगुवाहरू त्यहाँबाट हिँडे र बालाककहाँ फर्केर गए । तिनीहरूले भने, “बालामले हामीसँग आउन इन्कार गरे ।” 
बालाकले पहिलेका समूहका भन्दा धेरै प्रतिष्‍ठित अगुवाहरूलाई फेरि पठाए । 
तिनीहरू बालामकहाँ आए र तिनलाई भने, “सिप्‍पोरका छोरा बालाक भन्‍नुहुन्छ, 'बिन्ती छ, तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्, 
किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्‍जत गर्नेछु र तपाईंले जे गर्न भन्‍नुहुन्छ सो म गर्नेछु । त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्' ।” 
बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, “बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ । 
कृपया आज राती पनि यहीँ पर्खनुहोस्, ताकि परमप्रभुले मलाई के भन्‍नुहुन्छ सो म जान्‍न सकूँ ।” 
परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।” 
बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए । 
तर तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो । परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए । बालामका दुई जना नोकर तिनीसँगै थिए । 
गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे । 
त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए । 
गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो । त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो । बालामले त्यसलाई फेरि पनि पिटे । 
त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन । 
गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे । 
त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको ?” 
बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् । मेरो हातमा तरवार भएको भए हुन्थ्यो । यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ ।” 
गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र ? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र ?” बालामले जवाफ दिए, “थिएन ।” 
तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए । 
परमप्रभुका दूतले तिनलाई भने, “तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस् ? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन् । 
गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो । यदि त्यो मबाट नतर्केको भए, निश्‍चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ ।” 
बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु । तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको छ भन्‍ने मैले थाहा पाइनँ । त्यसैले यदि तपाईंलाई मन पर्दैन भने, म फर्कने छु ।” 
तर परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा । तर तैँले म जे भन्‍छु सो मात्र भन्‍नुपर्छ ।” त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए । 
जब बालाम आएका थिए भन्‍ने बालाकले सुने, उनी तिनलाई भेट्न मोआबको सहर अर्नोनमा भेट्न गए, जुन सिमाना पर्छ । 
बालाकले बालामलाई भने, “के मैले तपाईंलाई डाक्‍न मानिसहरू तपाईंकहाँ पठाइनँ र ? तपाईं मकहाँ किन आउनुभएन ? के म तपाईंलाई आदर गर्न सक्षम छैन र ?” 
त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “हेर्नुहोस्, म तपाईंकहाँ आएको छु । के मसँग कुनै कुरा भन्‍ने शक्ति छ र? मैले त परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्‍न सक्छु ।” 
बालाम बालाकसँग गए र तिनीहरू किर्यत-हुसोतमा आइपुगे । 
त्यसपछि बालाकले गोरुहरू र भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम र तिनीसँग भएका अगुवाहरूलाई दिए । 
बिहान बालाकले बालामलाई बालको उच्‍च स्थानमा लगे । त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे । 
