﻿लेवीहरू.
8.
परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 
“हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू । 
भेट हुने पालको प्रवेशद्वारमा सबै समुदायलाई भेला गर्नू ।” 
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ उनले गरे, र सबै समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भए । 
अनि मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनेर आज्ञा गर्नुभएको यही नै हो ।” 
मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए । 
उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए । 
उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए । 
उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए । 
मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे । 
उनले सात पटक वेदीमा तेल छर्के, अनि वेदी र त्यसका सबै भाँडाकुँडाहरू, धुने बाटा र त्यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे । 
उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे । 
मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए । 
मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस पापबलिको साँढेको टाउकोमाथि राखे । 
उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे । 
मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए । 
तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्यो साँढे, त्यसको छाला, त्यसको मासु, र गोबरलाई छाउनीबाहिर जलाए । 
मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे । 
उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के । 
उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए । 
उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो । 
अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे । 
हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए । 
उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के । 
उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए । 
परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट उनले एउटा अखमिरी रोटी, एउटा तेल मिसाइएको रोटी र एउटा पापड लिएर बोसो र दाहिने फिलामा राखे । 
उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए । 
त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो । 
मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो । 
मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे । 
यसैकारण मोशाले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासुलाई उमाल्नू, र मैले ‘हारून र तिनका छोराहरूले खाऊन्’ भनेर आज्ञा गरेझैँ अभिषेकको डालोमा भएको रोटीसहित त्यसलाई त्यहीँ खाओ । 
मासु र रोटीबाट जे बाँकी हुन्छ त्यसलाई जलाउनू । 
तिमीहरूको अर्पणको काम पुरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू । किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुने छ । 
आजको दिनमा जे गरियो, त्यो तिमीहरूको प्रायश्‍चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो । 
तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।” 
यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे । 
