﻿प्रस्थान.
37.
बजलेलले बबुल काठबाट सन्दुक बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो । 
तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए । 
तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले । 
तिनले बबुलका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे । 
तिनले सन्दुकलाई बोक्‍न ती डन्डाहरू त्यसका दुवैतिर भएका मुन्द्राहरूमा हाले । 
तिनले निखुर सुनबाट प्रायश्‍चित्तको ढकनी बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो । 
बजलेलले प्रायश्‍चित्तको ढकनीको दुवै छेउका लागि पिटेको सुनका दुईवटा करूब बनाए । 
एउटा करूब प्रायश्‍चित्तको ढकनीको एउटा छेउमा अर्को करूब अर्को छेउको लागि थिए । ती करूबहरू प्रायश्‍चित्तको ढकनीकै टुक्राबाट बनाइएका थिए । 
करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र प्रायश्‍चित्तको ढकनीलाई छाया पारेका थिए । करूबहरू आमनेसामने थिए, र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरेका थिए । 
बजलेलले बबुल काठबाट टेबुल बनाए । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो । 
तिनले यसलाई निखुर सुनले मोहोरे र यसको चारैतिर सुनको बिट लगाए । 
तिनले यसको चारैतिर चार अङ्गुल चौडा भएको एउटा घेरो बनाए, र यसको चारैतिर सुनको बिट लगाए । 
तिनले टेबुलको निम्ति ढालेर चारवटा मुन्द्रा बनाए, र ती मुन्द्राहरूलाई चारवटा खुट्टाका चारवटा कुनामा लगाए । 
टेबुललाई बोक्‍न ती मुन्द्राहरू डन्डाहरूका लागि ठाउँ हुनलाई घेरोको छेउमा थिए । 
तिनले टेबुल बोक्‍नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे । 
तिनले भेटीहरू चढाउन प्रयोग हुने टेबुलमा राखिने थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू बनाए । 
तिनले यी सबै निखुर सुनले बनाए । तिनले पिटेको निखुर सुनबाट सामदान बनाए । तिनले यसको आधार र डन्डा हुने गरी सामदानलाई बनाए । यसका कचौरा, कोपिला र फुलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए । 
यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी छवटा हाँगा बाहिरतिर निस्केका थिए । 
पहिलो हाँगामा हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए, अनि अर्को हाँगामा पनि हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए । सामदानबाट बाहिरतिर निस्केका छवटै हाँगा उस्तै थिए । 
सामदानको बिचको डन्डामा हाडे-बदाममा चारवटा कचौरा, आ-आफ्ना कोपिला र फुलहरू थिए । 
सामदानबाट निस्केका छवटा हाँगामध्ये पहिलो जोडी हाँगामुनि एउटा कोपिला, दोस्रो जोडी हाँगामुनि दोस्रो कोपिला र तेस्रो जोडी हाँगामुनि तेस्रो कोपिला थियो । सामदानबाट बाहिरतिर निस्केका सबै छवटै हाँगामा उस्तै थिए । 
तिनीहरूका कोपिला र हाँगाहरू सबै एउटै निखुर सुनको टुक्रा पिटेर बनाइएका थिए । 
बजलेलले सामदान, यसका सातवटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए । 
तिनले सामदान र यसका सबै सामान करिब चौँतिस किलोग्राम सुनबाट बनाए । 
बजलेलले बबुल काठबाट धूपको वेदी बनाए । यसको लमाइ एक हात र चौडाइ एक हातको थियो । यो वर्गाकार थियो र यसको चौडाइ दुई हातको थियो । यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए । 
तिनले धूपको वेदी, यसको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरूलाई निखुर सुनले मोहोरे । तिनले यसको चारैतिर निखुर सुनको बिट पनि लगाए । 
बोक्‍ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए । 
तिनले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे । 
तिनले अभिषेक गर्ने पवित्र तेल अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए । 
