﻿प्रस्थान.
30.
तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू । 
यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् । 
धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू । 
यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् । 
डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू । 
तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्‍ने राख्‍नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्‍चित्तको ढकनीको सामु हुनेछ । 
हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू । त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू, 
र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू । 
तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्‍नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू । 
वर्षको एक चोटि हारूनले यसका सिङहरूमा प्रायश्‍चित्त गरोस् । पापबलिको रगतले पुस्ता-पुस्तासम्म त्यसले वर्षको एक चोटि प्रायश्‍चित्त गर्नेछ । यो परमप्रभुको निम्ति अति पवित्र छ ।” 
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 
“तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस् । तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस् । 
जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ) । यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ । 
बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ । 
मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्‍चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन् । 
तैँले इस्राएलीहरूबाट यो प्रायश्‍चित्तको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ । यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्‍चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस् ।” 
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 
“तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना । यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्‍नू । 
हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् । 
तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ । 
तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन् । हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो ।” 
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 
“तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल बास्‍ना आउने बोझो, 
५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू । 
तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ । 
तैँले यस तेलले भेट हुने पालसाथै गवाहीको सन्दुक, 
टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी, 
होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू । 
ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ । 
हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् । 
तैँले इस्राएलीहरूलाई भन्‍नू, “तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् । 
यसलाई मानिसको छालामा दल्नुहुँदैन, न त उही सुत्र प्रयोग गरेर यस्तो तेल बनाउनुहुन्छ किनकि यो परमप्रभुको निम्ति अलग गरिएको हो । तैँले यसलाई यसरी नै हेर्नुपर्छ । 
जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ ।” 
परमप्रभुले मोशालाई भन्‍नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू । 
नुन मिसिएको शुद्ध र पवित्र हुने गरी धूपको रूपमा अत्तर बनाउनेले जस्तै गरी त्यसलाई बनाउनू । 
तैँले यसलाई मसिनो गरी पिस्‍नू । यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दुकको सामुन्‍ने राख्‍नू । तैँले यसलाई मेरो लागि अति पवित्र ठान्‍नू । 
तैँले बनाउने यो धूपजस्तै उही सुत्र प्रयोग गरेर आफ्नो लागि अर्को कुनै धूप नबनाउनू । यो मेरो लागि अति पवित्र होस् । 
अत्तरको रूपमा प्रयोग गर्न जसले योजस्तै कुनै धूप बनाउँछ, त्यो आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।” 
