﻿प्रस्थान.
28.
इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले । 
तैँले तेरा दाजु हारूनको निम्ति मेरो लागि अलग गरिएका पोशाकहरू लगाउनू । यी पोशाकहरू तिनको गौरव र शोभाको निम्ति हुनेछन् । 
मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् । 
तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पुजारी भएर मेरो सेवा गर्न सकून् । 
शिल्पकारहरूले सुती कपडा, सुन, निलो, बैजनी र रातो धागो प्रयोग गरून् । 
तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् । 
यो गाँस्‍नलाई त्यसको दुवै छेउमा गाँसेका दुईवटा काँधे-बन्धन होऊन् । 
यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोदजस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ । 
दुईवटा आनिक्स पत्थरलाई लिएर तिनमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू । 
छोराहरूको जन्मअनुसार एउटा पत्थरमा छ जनाका नाउँ र अर्को पत्थरमा छ जनाका नाउँ खोप्‍नू । 
छापमा खोप्‍ने शिल्पकारले झैँ तैँले यो दुईवटा पत्थरमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू । ती पत्थर सुनका रत्‍न जडिने मणिघरमा जड्न लगाउनू । 
परमप्रभुलाई इस्राएलका छोराहरूको सम्झना दिलाउन ती दुईवटा पत्थरलाई एपोदका काँधे-बन्धनमा लगाउनू । उहाँलाई सम्झना दिलाउन हारूनले परमप्रभुको सामु तिनीहरूका नाउँलाई बोकेर लैजानेछन् । 
तैँले सुनका मणिघरहरू 
र डोरीजस्ता बाटेका निखुर सुनका दुईवटा सिक्री बनाउनू, र ती सिक्रीहरूलाई मणिघरहरूमा लगाउनू । 
निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू । 
यो वर्गाकार र दोब्बर पट्ट्याइएको हुनुपर्छ । यसको लमाइ र चौडाइ एक-एक बित्ताको होस् । 
तैँले यसमा बहुमूल्य पत्थरका चारवटा लहर गरी मणीहरू राख्‍नू । पहिलो लहरमा मानिक, पुष्पराज र बेरूज राख्‍नू । 
दोस्रो लहरमा फिरोजा, नीर र पन्‍ना राख्‍नू । 
तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला राख्‍नू । 
चौथो लहरमा पीतमणि, आनिक्स र बिल्लौर राख्‍नू । ती सुनका मणिघरहरूमा जडिऊन् । 
ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग होऊन् । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गरोस् । 
छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू । 
छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाउनू र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाउनू । 
सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाउनू । 
बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोड्नू । त्यसपछि ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाउनू । 
सुनका दुईवटा मुन्द्री बनाउनू, र भित्रपट्टिको बिटको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाउनू । 
तैँले थप दुईवटा सुनका मुन्द्री बनाउनू, र तिनलाई एपोदको अगाटिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाउनू । 
छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँध्‍नू ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । 
हारून पवित्रस्थानमा जाँदा त्यसले परमप्रभुको सामु निरन्तर सम्झनाको निम्ति आफ्नो छातीमा निर्णय गर्न राखिने छाती-पातामा इस्राएलका मानिसहरूका नाउँ बोकोस् । 
निर्णय गर्नलाई छाती-पातामा ऊरीम र तुम्मीम राख्‍नू ताकि हारून परमप्रभुको सामु जाँदा ती त्यसको छातीमा होस् । यसरी हारूनले इस्राएलका मानिसहरूका लागि निर्णय गर्ने माध्यमलाई परमप्रभुको सामु सधैँ आफूसितै बोकोस् । 
तैँले एपोदको अलखा पूर्ण रूपमा निलो कपडाको बनाउनू । 
यसको बिचमा टाउको छिराउने प्वाल बनाउनू । नच्यातियोस् भन्‍नाका लागि कठालोको प्वालजस्तै बुनेको बिट होस् । यो जुलाहाको काम होस् । 
तलको फेरोको चारैतिर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू । 
तिनको वरिपरि बिच-बिचमा सुनका घण्टीहरू बनाउनू । अलखाको फेरोको चारैतिर सुनका घण्टीहरू र दारिमहरू होऊन् । 
हारूनले सेवा गर्दा त्यसले अलखा लगाओस् ताकि त्यो पवित्रस्थानमा परमप्रभुको सामु जाँदा र त्यहाँबाट आउँदा यसको आवाज सुनियोस् । त्यो नमरोस् भन्‍नाका लागि यसो गरिएको हो । 
तैँले निखुर सुनको एउटा पाता बनाउनू, र यसमा छापमा खोपेजस्तै गरी “परमप्रभुको निम्ति पवित्र” भनी खोप्‍नू । 
यस पातालाई निलो फित्ताले फेटाको अगाडिपट्टि बाँध्‍नू । 
यसलाई हारूनको निधारमा राख्‍नू । इस्राएलीहरूले परमप्रभुको निम्ति अलग गर्ने पवित्र उपहारका भेटीहरूको दोष हारूनले सधैँ बोकोस् । परमप्रभुले तिनीहरूका उपहारहरू ग्रहण गरून् भन्‍नाका लागि फेटा सधैँ त्यसको निधारमा होस् । 
तैँले मसिनो सुती कपडाबाट लबेदा बनाउनू, र फेटा पनि सुती कपडाबाट नै बनाउनू । पटुकाचाहिँ बुट्टा हाल्नेद्वारा बनाइयोस् । 
हारूनका छोराहरूका गौरव र शोभाका लागि लबेदा, पटुका र फेटाहरू बनाउनू । 
तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू । 
तिनीहरूका नग्‍नता ढाक्‍नलाई सुतीका भित्री पोशाकहरू बनाउनू जसले तिनीहरूको कम्मरदेखि जाँघसम्म ढाकून् । 
हारून र त्यसका छोराहरू पवित्रस्थानमा सेवा गर्नका लागि वेदीमा जाँदा वा भेट हुने पालमा प्रवेश गर्दा तिनीहरूले यी पोशाकहरू लगाऊन् । तिनीहरू दोषी ठहरिएर नमरून् भन्‍नाका लागि तिनीहरूले यी लगाउनैपर्छ । हारून र त्यसपछि त्यसका सन्तानहरूका लागि यो स्थायी विधि हो । 
