﻿प्रस्थानको पुस्तक.
1.
याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्: 
रूबेन, शिमियोन, लेवी र यहूदा, 
इस्साखार, जबूलून, र बेन्यामीन, 
दान, नप्‍ताली, गाद र आशेर । 
याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए । 
त्यसपछि योसेफ, तिनका सबै दाजुहरू र त्यो सबै पुस्ता मरे । 
इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो । 
त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले । 
तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन् । 
आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ । युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन् ।” 
त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए । इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए । 
तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले । 
मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए । 
मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए । तिनीहरूले लगाएका कामहरू कठिन थिए । 
तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडिनीहरूलाई भने, 
“हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर । छोरो रहेछ भने तिमीहरूले त्यसलाई मार । 
तर छोरी रहेछ भने त्यसलाई जीवितै राख ।” तर सुँडिनीहरू परेमश्‍वरदेखि डराउँथे । त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे । 
मिश्रका राजाले तिनीहरूलाई बोलाएर भने, “तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ?” 
ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्‍नुभन्दा पहिले नै तिनीहरूले बच्‍चा जन्माइसकेका हुन्छन् । 
परमेश्‍वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए । 
सुँडिनीहरू परमेश्‍वरदेखि डराएकाले उहाँले तिनीहरूलाई परिवार दिनुभयो । 
फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।” 
