﻿उत्पत्ति.
8.
परमेश्‍वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्‍वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो । 
अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो । 
जलप्रलयको पानी पृथ्वीमा बिस्तारै घट्यो, र एक सय पचास दिनपछि पानी निकै घट्यो । 
सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा अडियो । 
दसौँ महिनासम्म पानी निरन्तर घटिरह्‍यो । त्यही महिनाको पहिलो दिनमा पर्वतहरूका टाकुराहरू देखा परे । 
चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले । 
तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्‍जेलसम्म त्यो यताउता उडिरह्‍यो । 
त्यसपछि जमिनको सतहबाट पानी घटेको छ कि छैन भनेर हेर्न तिनले एउटा ढुकुरलाई पठाए । 
तर ढुकुरले आफ्नो खुट्टा राख्‍ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले अझै पनि पुरै जमिनलाई ढाकिरहेको थियो । तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए । 
अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए । 
साँझमा त्यो ढुकुर तिनीकहाँ फर्क्यो । हेर! त्यसको चुच्‍चोमा भर्खरै टिपिएको ताजा भद्राक्षको पात थियो । त्यसैले, पानी जमिनबाट घटेछ भनी नोआले थाहा पाए । 
अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए । त्यो फेरि फर्केर तिनीकहाँ आएन । 
नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनमा जमिनबाट पानी सुक्यो । नोआले जहाजको छत खोलेर बाहिर हेरे र तिनको सुक्खा भूमि देखे । 
दोस्रो महिनाको सत्ताइसौँ दिनमा जमिन सुक्खा भयो । 
परमेश्‍वरले नोआलाई भन्‍नुभयो, 
“तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरू जहाजबाट निस्केर आओ । 
तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।” 
त्यसैले नोआ आफ्ना छोराहरू, आफ्नी पत्‍नी र आफ्ना बुहारीहरूसँगै बाहिर निस्के । 
हरेक जीवित प्राणी, हरेक घस्रने जन्तु, हरेक पक्षी र पृथ्वीमा चलहल गर्ने हरेक प्राणी तिनीहरूका आ-आफ्ना जात-जातअनुसार जहाजबाट बाहिर निस्के । 
नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले शुद्ध पशुहरू र शुद्ध पक्षीहरूमध्ये केहीलाई लिई वेदीमा होमबलि चढाए । 
परमप्रभुले यसको सुगन्ध लिनुभएपछि आफ्नो मनमा भन्‍नुभयो, “मानव-जातिको ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्‍ट हुने भए तापनि म उसको कारणले गर्दा फेरि भूमिलाई श्राप दिनेछैनँ, न त मैले अहिले गरेजस्तै फेरि हरेक जीवित प्राणीलाई सर्वनाश गर्नेछु । 
पृथ्वी रहुञ्‍जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्‍म र हिउँद अनि दिन र रातको अन्त्य हुनेछैन । 
