﻿फिलिप्पी.
4.
यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो। 
इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु। 
अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्। 
प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! 
तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। 
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गरिऊन्। 
तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ। 
अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्‍ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर। 
जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्‍यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ। 
प्रभुमा म अत्यन्तै आनन्दित छु; किनकि अन्त्यमा तिमीहरूको वास्ता मप्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ। 
म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहन मैले सिकेको छु। 
म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहने रहस्य मैले सिकेको छु। 
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ। 
मेरो कष्‍टमा सहभागी हुनु तिमीहरूको लागि असल हो। 
यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन। 
किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। 
मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु। 
मैले पूरा मोल प्राप्‍त गरेको छु, र यो मेरो लागि पर्याप्‍त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ; किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्‍त गरेको छु। त्यो मिठो बास्‍नादार भेटी, परमेश्‍वरलाई ग्रहणयोग्य र प्रसन्‍न तुल्याउने बलिदान भएको छ। 
र मेरा परमेश्‍वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ। 
हाम्रा परमेश्‍वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन। 
ख्रीष्‍ट येशूमा परमेश्‍वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। 
यहाँ भएका परमेश्‍वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। 
प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।
