﻿गलाती.
4.
म तिमीहरूलाई भन्दछु, जबसम्म उत्तराधिकारी नाबालक रहन्छ, ऊ सबै कुराहरूको मालिक भए तापनि ऊ कुनै सेवकभन्दा भिन्‍न हुँदैन। 
तर उसको बुबाले तोकेको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा रहन्छ। 
त्यसै गरी हामीहरू पनि जब नाबालकै थियौँ, तब हामी संसारका आधारभूत सिद्धान्तहरूको दासत्वमा थियौँ। 
तर जब तोकिएको समय आयो, तब परमेश्‍वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो। 
व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो। 
किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्‍वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभएको हो। त्यही आत्माले उहाँलाई, “अब्बा, पिता” भनी पुकार्नुहुन्छ। 
यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्‍वरका पुत्र हौ र तिमी उहाँको पुत्र हौ भने परमेश्‍वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुहुन्छ। 
तिमीहरूले पहिले परमेश्‍वरलाई चिनेका थिएनौ, र तिमीहरू ती कुराहरूका सेवक थियौ, जो वास्तवमा ईश्‍वर नै होइनन्। 
तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अथवा परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक बन्‍न चाहन्छौ? 
तिमीहरूले विशेष दिन, महिना, ऋतु र वर्षहरू मान्दछौ! 
मैले तिमीहरूका निम्ति गरेको परिश्रम व्यर्थ भयो कि भनी फिक्री लागिरहेको छ। 
दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूसँग बिन्ती गर्दछु, तिमीहरू मजस्तै होओ, जसरी म तिमीहरूजस्तै भएको छु। तिमीहरूले मलाई केही हानि गरेका छैनौ। 
तिमीहरू जान्दछौ, कि पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ। 
यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न त बेवास्ता गर्‍यौ, न तिरस्कार नै गर्‍यौ; तर तिमीहरूले मलाई परमेश्‍वरको दूतलाई झैँ अथवा ख्रीष्‍ट येशूलाई झैँ स्वागत गर्‍यौ। 
मसँग अनुभव गरेको तिमीहरूको त्यो आनन्द कता गयो? म गवाही दिन सक्छु, यदि सम्भव भएको भए तिमीहरूले आफ्नै आँखाहरूसमेत निकालेर मलाई दिनेथियौ। 
मैले तिमीहरूसँग सत्य बोलेर के अब म तिमीहरूको शत्रु भएको छु? 
ती यहूदी अगुवाहरू डाहको कारण तिमीहरूको मन जित्न खोजिरहेका छन्, तर असल विचारले होइन। तिनीहरूले तिमीहरूलाई हामीबाट अलग पार्न मात्र चाहन्छन्, ताकि तिमीहरू उनीहरूका निम्ति जोशिलो हुन सक। 
असल उद्देश्यसहित र सधैँ जोशिलो हुनु राम्रो हो; तर म तिमीहरूसँग हुँदा मात्र होइन, तर सधैँभरि त्यस्तै होस्। 
हे मेरा प्रिय बालबालिकाहरू हो, जबसम्म ख्रीष्‍ट तिमीहरूमा बनिनुहुन्‍न, तबसम्म म फेरि प्रसव-वेदनामा परेकी स्त्रीझैँ हुन्छु। 
अहिले म तिमीहरूसँग कसरी रहूँ, र मेरो बोल्ने तरिका कसरी बदलौँ, किनकि म तिमीहरूका विषयमा व्याकुल छु। 
मलाई भन, के तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहन्छौ, तिमीहरूलाई थाहा छैन व्यवस्थाले के भन्छ? 
धर्मशास्त्रमा यसरी लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, एउटा दासी स्त्रीबाट जन्मेको, र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट जन्मेको। 
दासीबाट जन्मेको छोरा शरीरको इच्छाअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीपट्टिबाट जन्मेको छोराचाहिँ ईश्‍वरीय प्रतिज्ञाको प्रतिफल थियो। 
यो कुरालाई उदाहरणको रूपमा लिइएको छ: दुई स्त्रीहरूले दुई वटा करारलाई प्रतिनिधित्व गर्दछन्। एउटा करारचाहिँ सीनै पर्वतबाट हो, र यसले दासत्वको निम्ति जन्मिएका सन्तानलाई प्रतिनिधित्व गर्दछ, जो हागार हो। 
अहिले हागारचाहिँ अरब देशमा भएको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ; किनकि त्यो आफ्ना सन्तानका साथ दासत्वमा छे। 
तर सारा स्वर्गीय यरूशलेमकी प्रतिक हुन्, जो स्वतन्त्र छिन्, जोचाहिँ हामी सबैकी आमा हुन्। 
किनकि धर्मशास्त्रमा लेखिएको छ: “हे बाँझी स्त्री, आनन्द गर्, तँ जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्; आनन्दसाथ र चर्को सोरमा करा; हे प्रसव वेदना कहिल्यै थाहा नपाउने तिमी; किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ पति भएकी स्त्रीका भन्दा धेरै छन्।” 
अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू हौँ। 
त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ। 
तर धर्मशास्त्रले के भन्छ? “त्यो दासी र त्यसको छोरालाई निकालिदेऊ; किनकि दासीको छोरा कहिल्यै पनि स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुन सक्दैन।” 
यसकारण प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामी दासी स्त्रीका सन्तानहरू होइनौ, तर स्वतन्त्र स्त्रीका सन्तानहरू हौँ। 
