﻿कोरिन्थका मण्डलीलाई पावलको दोस्रो पत्र.
1.
परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, 
हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। 
हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। 
उहाँले हाम्रा सबै सङ्कष्‍टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्‍टहरूमा परेकाहरूलाई हामीले परमेश्‍वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ। 
किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ। 
यदि हामी यातनामा पर्छौँ भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौँ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका ती कष्‍टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्‍न गराउँछ। 
अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ; किनकि जसरी तिमीहरू हाम्रा कष्‍टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौँ। 
हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले एशियाको प्रान्तमा भोगेका कष्‍टहरूबारे तिमीहरू अनजान रहो भनी हामी चाहन्‍नौँ। हामीले सहन नसक्ने किसिमको कष्‍टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्छौँ कि बाँच्दैनौँ भनी निश्‍चित थिएनौँ। 
निश्‍चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा राखौँ भनेर नै हो। 
उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ। 
तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्‍वरलाई धन्यवाद दिनेछन्। 
अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्‍वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता र ईश्‍वरीय सत्यतामा व्यवहार गरेका छौँ। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहद्वारा यसो गरेका छौँ। 
किनकि हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही लेख्दैनौँ। अनि म आशा गर्दछु, कि 
जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, र तिमीहरूले हाम्रो बारेमा गर्व गर्नेछौ; अनि हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौँ। 
मलाई यस विषयमा निश्‍चय भएकोले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर पहिला तिमीहरूकहाँ आउने योजना मैले बनाएँ। 
म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ। 
के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र? 
तर निश्‍चय नै परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन। 
म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्‍वरको पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथ्यो। तर उहाँमा सदा “हो” नै छ। 
किनकि परमेश्‍वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्‍टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्‍वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ। 
अब परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ। 
उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ। 
तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु। 
हामी तिमीहरूको विश्‍वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्‍वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ। 
