﻿रोमी.
13.
प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ। किनकि परमेश्‍वरले नियुक्त गर्नुभएको अधिकारीबाहेक अरू कुनै अधिकारी हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्‍वरबाटै नियुक्त भएका हुन्छन्। 
फलस्वरूप, जसले अधिकारीहरूको विरोध गर्दछ, तिनीहरूले परमेश्‍वरले स्थापना गर्नुभएको कुराको विरोध गरेका हुन्छन्। यस्तो गर्नेहरूले आफूमाथि न्याय ल्याउनेछन्। 
किनकि शासकहरू उचित काम गर्नेका निम्ति होइन, तर अनुचित काम गर्नेका निम्ति डरका कारण हुन्। अधिकारीको डरबाट तिमी स्वतन्त्र हुन चाहन्छौ? त्यसो भए उचित काम गर, र तिम्रो अधिकारीहरूबाट प्रशंसा पाउनेछौ। 
किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्‍वरका सेवक हुन्। तर खराब काम गर्छौ भने डर मान। किनकि शासकहरूले व्यर्थैमा तरवार भिरेका हुँदैनन्। तिनीहरू परमेश्‍वरका सेवकहरू हुन्, जसले अनुचित काम गर्नेहरूमाथि परमेश्‍वरको क्रोध ल्याउँछन्। 
यसकारण अधिकारीहरूका अधीनमा बस्‍नु आवश्यक छ। सजाय पाउने डरको कारणले मात्र होइन, तर विवेकको कारणले पनि तिनीहरूका अधीनमा रहनुपर्छ। 
यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्‍वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्। 
तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल; राजस्व दिनुपर्दछ भने देओ; यदि डर मान्‍नुपर्ने हो भने डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत देओ। 
पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ। 
किनकि आज्ञाहरूले भन्छ: “व्यभिचार नगर्नू,” “मानव हत्या नगर्नू,” “चोरी नगर्नू,” “लोभ नगर्नू,” र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, “तिम्रो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।” 
प्रेमले छिमेकीलाई हानि पुर्‍याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो। 
वर्तमान समयलाई बुझ्दै यसो गर: तिम्रो लागि निद्राबाट जाग्ने समय अगिबाट नै आइसकेको छ। किनकि हामीले पहिला विश्‍वास गरेको समयभन्दा हाम्रो मुक्ति अझ नजिक आइपुगेको छ। 
रात बित्न लागेको छ; मुक्तिको दिन एकदमै नजिक छ। यसकारण अब हामीले अन्धकारको कामलाई त्यागेर ज्योतिका हातहतियार धारण गरौँ। 
दिनको उज्यालोमा झैँ, हामी असल चालचलनमा जिऔँ, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्‍ट आचरणमा होइन, झगडामा र डाहमा होइन। 
बरु प्रभु येशू ख्रीष्‍टलाई धारण गरेर जिओ, र आफ्ना शारीरिक स्वभावका अभिलाषा कसरी पूरा गर्ने भनेर मन नलगाओ। 
