﻿यूहन्‍ना.
11.
लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए। 
यी तिनै मरियम हुन्, जसले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्। तिनकै भाइ लाजरस बिरामी परेका थिए। 
यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्‍ने खबर पठाए, “प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।” 
यो खबर सुनेर येशूले भन्‍नुभयो, “यो बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर परमेश्‍वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्‍वरको पुत्रले पनि महिमा पाउनेछ।” 
येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो। 
लाजरस बिरामी छन् भनेर सुन्‍नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्‍नुभयो। 
त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “अब हामी यहूदियामा फर्केर जाऔँ।” 
तर उहाँका चेलाहरूले भने, “गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?” 
येशूले भन्‍नुभयो, “दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? दिनको उज्यालोमा हिँड्‍डुल गर्ने मानिसले ठेस खाँदैन; किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ। 
तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।” 
त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।” 
उहाँका चेलाहरूले भने, “प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।” 
येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्‍नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए। 
त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍टसँग भनिदिनुभयो, “लाजरस मरेका छन्। 
अनि तिमीहरूका निम्ति म त्यहाँ नभएको पनि राम्रै भयो। किनकि यसले तिमीहरूलाई ममाथि विश्‍वास गर्ने तुल्याउनेछ। अब हामी लाजरस भएका ठाउँमा जाऔँ।” 
तब थोमा, जसलाई दिदुमस भनेर पनि चिनिन्थ्यो, उनले अरू चेलाहरूलाई भने, “हामी पनि जाऔँ, र उहाँसँगै मरौँ।” 
येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको चार दिन भइसकेको थियो भनेर उहाँले थाहा पाउनुभयो। 
यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढामा थियो। 
धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए। 
येशू आउँदैहुनुहुन्छ भन्‍ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिरहिन्। 
मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन। 
हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जस्तोसुकै बिन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।” 
येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।” 
मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरूको पुनरुत्थान हुँदा ऊ पनि जीवित पारिनेछ।” 
येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ। 
जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्‍वास गर्छ्यौ?” 
“निश्‍चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्‍वरको पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।” 
अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई सुटुक्‍क बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहँदैहुनुहुन्छ।” 
यो सुनेर मरियम तुरुन्तै उठेर येशूकहाँ गइन्। 
येशू अझै पनि त्यस गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो। 
मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे। 
जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।” 
मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। 
“लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।” 
येशू रुनुभयो। 
यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!” 
तर कतिले भने, “दृष्‍टिविहीनलाई दृष्‍टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?” 
येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो। 
येशूले तिनीहरूलाई भन्‍नुभयो, “ढुङ्गा हटाओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।” 
येशूले भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?” 
त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद। 
तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्‍वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।” 
यो कुरा भन्‍नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!” 
अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।” 
जब मरियमलाई भेट्न आएका धेरै यहूदीहरू, जसले येशूले गर्नुभएको यो अचम्मको काम देखे, तब तिनीहरूले उहाँमाथि विश्‍वास गरे। 
कति जनाचाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कुरा तिनीहरूलाई सुनाइदिए। 
त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले एउटा महासभा बोलाए। “अब हामी के गरौँ?” तिनीहरूले आपसमा प्रश्न गरे, “यस मानिसले त साँच्‍चै अलौकिक चिन्हहरू गरेर देखाउँदैछ। 
अब हामीले यसलाई त्यसै छोडिदियौँ भने सबै मानिसहरूले यसमाथि विश्‍वास गर्नेछन्। अनि रोमीहरू हामीमाथि आइलाग्नेछन् र हाम्रो पवित्रस्थान र जातिलाई कब्जा गर्नेछन्।” 
तिनीहरूमध्ये त्यस वर्षको प्रधान पुजारी कैयाफाले भने, “तिमीहरूलाई केही पनि थाहा छैन! 
मानिसहरूका निम्ति सम्पूर्ण जाति नाश हुनुभन्दा यो एउटा मानिस मर्नु नै असल हुन्छ भनी तिमीहरू महसुस गर्दैनौ?” 
कैयाफा आफूले सोचेर यसो भनेका थिएनन्, तर उनी प्रधान पुजारी भएको हुनाले येशू सम्पूर्ण यहूदी राष्ट्रका निम्ति मर्नुपर्छ भन्‍ने अगमवाणी तिनको मुखबाट निस्केको थियो। 
अनि त्यस राष्ट्रका लागि मात्र होइन, तर संसारभरि छरिएर बसेका परमेश्‍वरका सन्तानका निम्ति तिनीहरूलाई जम्मा गर्न र एउटै बनाउनलाई येशू मर्नुहुनेछ भन्‍ने यो भविष्यवाणी भएको थियो। 
यसकारण त्यही समयदेखि तिनीहरूले येशूलाई मार्ने षड्यन्त्र रच्न थाले। 
त्यसकारण येशू यहूदीहरूका बीचमा खुल्‍लमखुल्‍ला हिँड्नुभएन। उहाँ उजाडस्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसँग बस्‍नुभयो। 
यहूदीहरूको निस्तार चाड नजिकै थियो। निस्तार चाड सुरु हुनुअगि शुद्धी-संस्कार पालन गर्न भनेर गाउँ-बस्तीबाट धेरै मानिसहरू यरूशलेम आएका थिए। 
तिनीहरू सबैले येशूलाई खोजे, र मन्दिरमा उभिरहेका बेला तिनीहरूले आपसमा यसरी सोधखोज गरे, “तिम्रो के विचार छ? उहाँ निस्तार चाडको लागि आउनुहुन्‍न होला र?” 
तर मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन सकियोस् भनेर कसैले येशूलाई देख्यो भने त्यसले तिनीहरूलाई खबर गर्नू भन्‍ने आज्ञा दिएका थिए। 
