﻿लूका.
10.
त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो। 
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर। 
जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु। 
न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर। 
“जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’ 
यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ। 
तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर। 
“कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ। 
त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्‍वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन। 
तर कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरिएन भने त्यस सहरका गल्‍लीहरूमा जाओ, र यसो भन, 
‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्‍चय जान: परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ।’ 
म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ। 
“धिक्‍कार, तँलाई, हे खोराजिन! धिक्‍कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए। 
तर न्यायको समयमा तिमीहरूको भन्दा टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ। 
अनि, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ तल पातालमा खसालिनेछस्। 
“जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरै कुरा सुनेको हुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छ; त्यसले मलाई नै अस्वीकार गरेको हुन्छ; तर जसले मलाई अस्वीकार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि अस्वीकार गरेको हुन्छ।” 
ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।” 
उहाँले भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्केझैँ खसिरहेको देखेँ। 
मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन। 
तापनि दुष्‍ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्‍ने कुरामा आनन्द गर।” 
त्यस बेला येशू पवित्र आत्माद्वारा आनन्दले भरिनुभयो र भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ; किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो। 
“मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताले बाहेक कसैले जान्दैन। अनि पिता को हो भनी पुत्रले र जस-जसकहाँ उहाँलाई प्रकट गरिदिने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले चिन्दैन।” 
त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्‍नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्। 
किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्‍न इच्छा गरेका थिए, तर सुनेनन्।” 
एक समयमा एक जना व्यवस्थाका विशेषज्ञ येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” 
उहाँले भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?” 
तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’” 
येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।” 
तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?” 
जवाफमा येशूले भन्‍नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्‍यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए। 
संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। 
त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। 
तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो। 
अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्‍यो। 
भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्‍का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’ 
“अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?” 
व्यवस्थाका ती विशेषज्ञले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, र तिमी पनि त्यस्तै गर।” 
येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्। 
तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्। 
तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्‍न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!” 
येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ। 
तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।” 
