﻿लूका.
6.
एक शब्बाथको दिन येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरूले अन्‍नका केही बालाहरू टिपेर हातमा माड्दै खान लागे। 
तर केही फरिसीहरूले भने, “किन तिमीहरू शब्बाथको दिनमा उचित नहुने काम गरिरहेका छौ?” 
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यति पनि पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए? 
तिनी परमेश्‍वरको भवनभित्र पसेर परमेश्‍वरलाई अर्पण गरिएका रोटीहरू खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। तिनले त्यसबाट केही भाग आफ्ना साथीहरूलाई पनि दिए, जुन व्यवस्थाविरुद्ध थियो।” 
त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र शब्बाथ दिनको प्रभु हो।” 
अर्को शब्बाथको दिन उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदैहुनुहुन्थ्यो। त्यहाँ एक जना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो। 
फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउनको लागि निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले शब्बाथ दिनमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए। 
तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो, “उठ र सबैको सामु खडा होऊ।” अनि त्यो उठ्यो र खडा भयो। 
त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, शब्बाथको दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्‍ट पार्नु?” 
उहाँले चारैतिर ती सबैलाई हेर्दै त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो। 
तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू भने रिसले चुर भए। अनि येशूलाई के गर्न सकिन्छ भनी आपसमा छलफल गर्न लागे। 
एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्‍वरलाई प्रार्थना चढाउँदै पूरै रात त्यहीँ बिताउनुभयो। 
बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्‍नुभयो। अनि तिनीहरूलाई प्रेरित नाम दिनुभयो। तिनीहरू यिनै हुन्: 
सिमोन (जसलाई उहाँले पत्रुस भन्‍ने नाम दिनुभयो), तिनका भाइ अन्द्रियास, याकोब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, 
मत्ती, थोमा, अल्फयसका छोरा याकोब, सिमोन कनानी, जो उग्रपन्थी भनिन्थे, 
याकोबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्‍वासघाती बन्यो। 
येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए। 
तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए। 
सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे; किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो। 
आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्‍नुभयो: “धन्य तिमी दीन हुनेहरू, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो। 
धन्य तिमी अहिले भोकाउनेहरू, किनकि तिमीहरू तृप्‍त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनकि तिमीहरू हाँस्‍नेछौ। 
धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रलाई पछ्याएको कारण घृणा गर्छन्, बहिष्कार र अपमान गर्छन्; अनि दुष्‍ट ठानी तिमीहरूका नामलाई इन्कार गर्छन्। 
“तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए। 
“तर धनीहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ। 
अहिले राम्रोसँग अघाएकाहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू भोकमा पर्नेछौ। अहिले हाँस्‍नेहरू हो, तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ। 
तिमीहरूलाई धिक्‍कार! जब सबै मानिसहरूले तिमीहरूलाई प्रशंसा गर्नेछन्; किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यस्तै नै व्यवहार गरेका थिए। 
“तर मेरा कुरा सुन्‍नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर; तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर। 
तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। 
यदि कसैले तिमीलाई एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने तिम्रो दौरा पनि लैजान देऊ। 
तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग। 
अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। 
“यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्। 
यदि तिमीहरूलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्। 
यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्। 
तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ। अनि तिमीहरू सर्वोच्‍चका सन्तान ठहरिनेछौ; किनकि परमेश्‍वर बैगुनी र दुष्‍टहरूप्रति पनि दयालु हुनुहुन्छ। 
तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ। 
“न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ। 
देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।” 
उहाँले तिनीहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो: “के कुनै दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउन सक्छ र? के ती दुवै खाडलमा पर्दैनन् र? 
चेला गुरुभन्दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ। 
“तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढालाई चाहिँ ध्यानै दिँदैनौ? 
तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढोचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल, र पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ। 
“कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। 
हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्‌गुर बटुल्छन्। 
असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्‍ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। 
“मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ? 
जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तिनलाई पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु। 
त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्‍कियो, त्यसले त्यो घरलाई हल्‍लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो। 
तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्‍किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।” 
