﻿मर्कूस.
15.
एकाबिहानै, मुख्य पुजारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू र सम्पूर्ण महासभासँग मिलेर सल्‍लाह गरी तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए। 
पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्दै हुनुहुन्छ।” 
ती मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए। 
यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।” 
तर येशूले कुनै जवाफ दिनुभएन। यो देखेर पिलातस छक्‍क परे। 
अब चाडको समयमा मानिसहरूले बिन्ती गरेर मागेको एक जना कैदीलाई छोडिदिने चलन थियो। 
झ्यालखानामा अरू विद्रोहीहरूसित एक जना बारब्बा नाम भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो। 
अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गरिदेऊन् भनी बिन्ती गर्‍यो। 
पिलातसले सोधे, “के मैले यहूदीहरूका राजालाई तिमीहरूका निम्ति छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” 
किनकि मुख्य पुजारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्‍ने पिलातसलाई थाहा थियो। 
तर पिलातसले बारब्बालाई नै छोडिदेऊन् भनी मुख्य पुजारीहरूले भीडलाई उक्साए। 
पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ?” 
तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” 
पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” 
भीडलाई सन्तुष्‍ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लगाउँदै उहाँलाई क्रूसमा झुण्ड्याउन सुम्पिदिए। 
सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए। 
तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। 
अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए। 
तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके। 
अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। 
अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए। 
तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। 
तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्‍नुभएन। 
अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे। 
तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। 
उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा। 
तिनीहरूले उहाँसित दुई डाँकुहरूलाई पनि क्रूसमा टाँगे—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। 
अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।” 
त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्‍लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! 
क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!” 
यस्तै किसिमले मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन। 
यो ख्रीष्‍ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्‍वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे। 
बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। 
अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” 
छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।” 
एक जना मानिस दौडेर गयो, र स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ, कहीँ एलिया आएर यिनलाई ओराल्छन् कि।” 
तब येशूले चर्को सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो। 
त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। 
अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्‍चय नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्!” 
केही स्त्रीहरू टाढैबाट हेरिरहेका थिए। तीमध्ये मरियम मग्दलिनी, कान्छो याकोब र योसेफकी आमा मरियम अनि सलोमी थिए। 
यी स्त्रीहरूले गालीलमा उहाँको पछि लाग्दै उहाँको खाँचोमा सेवा गरेका थिए। उहाँसित यरूशलेममा आउने अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। 
त्यो दिन तयारीको दिन (अर्थात्, शब्बाथ दिनको अगिल्‍लो दिन) थियो। यसकारण जब साँझ हुन थाल्यो, 
अरिमथिया निवासी योसेफ, सभाका एक जना प्रमुख सदस्य, जो आफूले परमेश्‍वरको राज्य पर्खिरहेका थिए। तिनी साहससित पिलातसकहाँ गएर येशूको लास मागे। 
उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्‍क परे। सेनापतिलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे। 
जब सेनापतिबाट तिनलाई यो कुरा पक्‍का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए। 
योसेफले केही मलमलको कपडा किने, र उहाँको लासलाई तल ओरालेर त्यही कपडामा बेह्रे, र उहाँलाई चट्टान खोपेर बनाइएको चिहानमा राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गा गुडाउँदै ल्याएर राखिदिए। 
मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखिएको ठाउँ देखे। 
