﻿जकरिया.
6.
मैले फेरि मास्तिर हेरेँ, र त्यहाँ मेरो अगि काँसाका दुई वटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका थिए। 
पहिलो रथका घोडाहरू राता, दोस्रो रथका घोडाहरू काला थिए; 
तेस्रो रथका सेता र चौथो रथका घोडाहरू टाटे-पाङ्ग्रे थिए। ती सबै शक्तिशाली थिए। 
मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?” 
तब स्वर्गदूतले मलाई जवाफ दिए, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका प्रभुको उपस्थितिमा उभिरहेका ठाउँबाट बाहिर निस्केर गइरहेका छन्। 
काला घोडाहरू भएको रथ उत्तर देशतिर गइरहेको छ, सेता घोडाहरू भएको रथ पश्‍चिमतिर, र टाटे-पाङ्ग्रे घोडाहरू भएको रथचाहिँ दक्षिणतिर गइरहेको छ।” 
ती शक्तिशाली घोडाहरू बाहिर गइसकेपछि तिनीहरू पृथ्वीभरि चारैतिर जानलाई आतुर थिए। अनि तिनले भने, “पृथ्वीभरि चारैतिर जाओ!” यसकारण तिनीहरू पृथ्वीभरि चारैतिर गए। 
तब स्वर्गदूतले मलाई कराएर भने, “हेर, ती उत्तरी देशतिर जानेहरूले उत्तरको देशमा मेरो क्रोधलाई विश्राम दिएका छन्।” 
याहवेहको वचन मकहाँ आयो: 
“बेबिलोनबाट आइपुगेका निर्वासितहरू हेल्दै, तोबियाह र यदायाहबाट सुनचाँदी लिएर त्यही दिन सपन्याहका छोरा योशियाहको घरमा जा। 
त्यो सुनचाँदी लगेर एउटा मुकुट बना, र यहोसादाकका छोरा प्रधान पुजारी यहोशूको टाउकोमा त्यो लगाइदे। 
अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ। 
यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’ 
मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै, तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ। 
टाढा-टाढाबाट मानिसहरू आउनेछन्, र याहवेहको मन्दिर बनाउन सहायता गर्नेछन्; अनि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। अनि यदि तिमीहरूले होसियारीसाथ याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यो पूरा हुनेछ।” 
