﻿जकरिया.
4.
त्यसपछि मसँग कुरा गर्ने स्वर्गदूत फेरि आए, र सुतिरहेको मान्छेलाई बिउँझाएझैँ तिनले मलाई बिउँझाए। 
तिनले मलाई सोधे, “तिमी के देख्छौ?” मैले जवाफ दिएँ, “म ठोस सुनको एउटा सामदान देख्छु, जसको टुप्पोमा एउटा कचौरा र त्यसमा सात वटा बत्तीहरू छन्; अनि ती बत्तीहरूमा सात वटा नलीहरू गाँसिएका छन्। 
अनि त्यहाँ दुई वटा जैतुनका रूखहरू पनि छन्; एउटा रूख कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।” 
मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?” 
तिनले जवाफ दिए, “के तिमी जान्दैनौ यी के हुन्?” मैले जवाफ दिएँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।” 
यसकारण तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। 
“ए शक्तिशाली पर्वत, तँ के होस्? यरुबाबेलको सामु तँ समतल भूमि हुनेछस्! तब त्यसले अन्तिम शिर ढुङ्गालाई निकालेर ल्याउँदा मानिसहरूले चिच्याउनेछन्, ‘परमेश्‍वरले यसलाई आशिष् देऊन्! परमेश्‍वरले यसलाई आशिष् देऊन्!’ ” 
त्यसपछि याहवेहको यो वचन मकहाँ आयो: 
“यरुबाबेलका हातहरूले यस मन्दिरको जग बसालेका छन्; अनि त्यसकै हातले यसलाई पूरा पनि गर्नेछन्। तब तैँले जान्‍नेछस्, कि सेनाहरूका याहवेहले नै मलाई तँकहाँ पठाउनुभएको हो। 
“सानो सुरुवातका दिनहरूलाई कसले तुच्छ ठान्‍न सक्छ? जबकि यी सात वटा याहवेहका आँखाहरू हुन्, जसले पृथ्वीभरि चारैतिर हेरिरहन्छन्; अनि यरुबाबेलका हातमा नाप्‍ने फित्ता देखेर मानिसहरू रमाउनेछन्।” 
त्यसपछि मैले स्वर्गदूतलाई सोधेँ, “सामदानका दायाँपट्टि र बायाँपट्टिका यी दुई जैतुनका रूखहरू के हुन्?” 
मैले स्वर्गदूतलाई फेरि सोधेँ, “सुनौलो तेल खन्याउने यी दुई सुनका नलीहरूका छेउमा भएका दुई वटा जैतुनका हाँगाहरू के हुन्?” 
तिनले जवाफ दिए, “यी के हुन्, तिमीलाई थाहा छैन?” मैले भनेँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।” 
यसैकारण तिनले भने, “यी ती दुई हुन्, जसलाई सारा पृथ्वीका प्रभुको सेवा गर्नलाई अभिषेक गरिएको छ।” 
