﻿सपन्याह.
3.
धिक्‍कार छ, त्यस अत्याचारी सहरलाई, जो विद्रोही र अशुद्ध छे! 
त्यसले कसैको कुरा पनि मानिन; त्यसले अनुशासनलाई स्वीकार गर्दिन। त्यसले याहवेहमाथि भरोसा राख्दिन; अनि त्यो आफ्नो परमेश्‍वरको नजिकमा आउँदिन। 
त्यसका अधिकारीहरू भोकाएका गर्जने सिंहहरूजस्ता छन्; अनि त्यसका शासकहरूचाहिँ साँझका ब्वाँसाहरूजस्ता हुन्, जसले बिहानको निम्ति हड्डीसम्म बाँकी राख्दैनन्। 
त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्; तिनीहरू विश्‍वासघाती मानिसहरू हुन्। त्यसका पुजारीहरूले पवित्रस्थानलाई अपवित्र पार्दछन्, र परमेश्‍वरको नियमलाई तोड्दछन्। 
त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ; उहाँले कहिल्यै खराबी गर्नुहुन्‍न। बिहानैपिच्छे उहाँले आफ्नो न्याय प्रकट गर्नुहुन्छ; अनि हरेक नयाँ दिन उहाँ चुक्नुहुन्‍न, तर पनि अधर्मीले लज्जित हुन जान्दैन। 
“मैले राष्ट्रहरूलाई नाश गरेको छु; तिनीहरूका बलिया किल्‍लाहरू ध्वस्त भएका छन्। त्यस सहरबाट भएर कोही हिँड्दैन; मैले तिनीहरूका सडकहरूलाई उजाड पारेको छु; तिनीहरूका सहरहरू बिरानो भएका छन्; ती उजाड र खाली भएका छन्। 
मैले यरूशलेम सहरको बारेमा भनेँ, ‘निश्‍चय नै तैँले मेरो भय मान्‍नेछस्, र मेरो सुधारको अनुशासन ग्रहण गर्नेछस्!’ तब त्यसको शरणस्थानलाई नाश पारिनेछैन, न त मेरा सबै तोकिएका दण्डहरू त्यसमाथि पर्नेछन्। तर तिनीहरू आफूले गर्ने सबै कामहरूमा झन् भ्रष्‍टतापूर्वक उत्सुक थिए।” 
याहवेह घोषणा गर्नुहुन्छ, “साक्षी दिन म खडा हुनेछु, यसकारण त्यस दिनसम्म तिमीहरू मलाई पर्खिरहो। राष्ट्रहरूलाई एकसाथ भेला गर्न, र राज्य राज्यलाई एक ठाउँमा जम्मा गर्न; अनि मेरो क्रोधको आगो तिनीहरूमाथि खन्याउने निर्णय गरेको छु— मेरो सबै बल्दो रिस तिनीहरूमाथि खन्याउने मैले निर्णय गरेको छु। समस्त पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ। 
“त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्, र एउटै मनले उहाँको सेवा गरून्। 
कूश देशका नदीहरूभन्दा पारिबाट मेरा छरपस्ट भएका मेरा आराधकहरूले मेरा निम्ति भेटी ल्याउनेछन्। 
त्यस दिन तिमीहरूले मेरो विरुद्धमा गरेका सारा दुष्कर्मको निम्ति यरूशलेम शर्ममा पर्नेछैन; किनकि म तिमीहरूको बीचबाट धाक लगाउने अहङ्कारीहरूलाई निकाल्नेछु। तिमीहरू फेरि कहिल्यै मेरा पवित्र पहाडमा अहङ्कारी हुनेछैनौ। 
तर म तेरो बीचमा नम्र र दीनहरूलाई छोड्नेछु। इस्राएलका बाँकी रहेकाहरूले याहवेहको नाममा भरोसा गर्नेछन्। 
इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्; तिनीहरूले कुनै झूटो बोल्नेछैनन्। तिनीहरूका मुखमा कुनै पनि छलका कुरा पाइनेछैन। तिनीहरू खानेछन्, सुत्नेछन् र कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।” 
हे सियोनकी छोरी, गीत गा; हे इस्राएल, उच्‍च सोरमा करा! हे यरूशलेमकी छोरी, आफ्नो सारा हृदयले आनन्दित हो, र रमाहट गर्! 
याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ; तेरा शत्रुहरूलाई फर्काइदिनुभएको छ। याहवेह इस्राएलका राजा तँसित हुनुहुन्छ; अब फेरि तैँले कुनै खराबीको डर मान्‍नुपर्दैन। 
त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, “हे सियोन, नडरा; तेरा हातहरू लुला हुन नपाऊन्। 
याहवेह, तेरा परमेश्‍वर तँसित हुनुहुन्छ; तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ। उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ; उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन, तर तँप्रति प्रसन्‍न भएर उहाँले गीत गाउनुहुनेछ।” 
“जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्, जो तेरा निम्ति बोझ र बदनामी भएका छन्, म तँबाट हटाइदिनेछु। 
त्यस बेला तँलाई अत्याचार गर्नेहरूसित म बदला लिनेछु। म लङ्गडाहरूलाई उद्धार गर्नेछु; अनि निर्वासितहरूलाई जम्मा गर्नेछु। तिनीहरू जुन-जुन देशमा शर्ममा परेका थिए, म तिनीहरूलाई ती हरेक देशहरूमा प्रशंसा र सम्मान दिनेछु। 
त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु; म त्यस बेला तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूका सुदिन तिमीहरूकै आँखाको अगाडि फर्काएर ल्याउनेछु, तब म तिमीहरूलाई पृथ्वीका समस्त जातिहरूका बीचमा प्रशंसा र सम्मान दिनेछु,” याहवेह भन्‍नुहुन्छ।
