﻿सपन्याहको भविष्यवाणी.
1.
 आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो: 
“म पृथ्वीको सतहबाट सबै थोक नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 
“म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु; म आकाशका पक्षीहरू र समुद्रका माछाहरूलाई नाश गर्नेछु। दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।” “अनि म सबै मानव-जातिलाई पृथ्वीको सतहबाट मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 
“म यहूदाको विरुद्धमा र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई, र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु; 
तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू, दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू र मोलेख देवताको नाममा पनि शपथ खानेहरू, 
याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू; अनि याहवेहको खोजी नगर्नेहरू, र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।” 
प्रभु याहवेहको सामु चुपचाप बस; किनकि याहवेहको दिन नजिकै छ। याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ; अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ। 
“याहवेहको बलिदानको दिन, म अगुवाहरू र राजाका छोराहरू; अनि विदेशी कपडा लगाउनेहरू सबैलाई दण्ड दिनेछु। 
त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू, आफ्ना देवताहरूका मन्दिरलाई हिंसा र छलले भर्नेहरू सबैलाई म दण्ड दिनेछु। 
“त्यस दिन” याहवेह भन्‍नुहुन्छ, “माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ; सहरका नयाँ टोलबाट विलाप र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ। 
तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर; तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्, चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्। 
त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु, र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू, जो मद्यका थिग्राजस्तै छन्, जसले, ‘याहवेहले न असल, न त खराब नै गर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु। 
तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्, तिनीहरूका घरहरू भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन्, तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्; तिनीहरूले दाखबारी लगाउनेछन्, तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।” 
याहवेहको महान् दिन नजिकै छ— त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ। याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ; त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्। 
त्यो दिन क्रोधको दिन हुनेछ— सङ्कष्‍ट र वेदनाको दिन, कष्‍ट र सर्वनाशको दिन, अन्धकार र निराशाको दिन, बादल र घोर अन्धकारको दिन। 
सुरक्षित किल्‍ला भएका सहरहरूका विरुद्धमा र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा तुरही र लडाइँको आवाज सुनिने दिन। 
“म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु, कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्; किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्। तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्। 
तिनीहरूलाई याहवेहको क्रोधको दिनमा, न त तिनीहरूका सुनले, न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।” उहाँको डाहको आगोमा सारा संसार भस्म पारिनेछ; किनकि यस पृथ्वीमा बसोबास गर्ने सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ। 
